सङ्क्रमितको उपचारमा यसरी खटिन्छन् स्वास्थ्यकर्मी

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


शुक्रराज ट्रपिकल तथा सरुवा अस्पतालका निर्देशक डा सागरराज भण्डारीको कोभिड–१९ को सङ्क्रमण भएदेखि नै दिनचर्या फेरिएको छ।

सङ्क्रमणको दोस्रो लहर फैलिएसँगै न उनले  समयमा सुत्न पाएका छन्, न त खान नै। अहिले २४ घण्टा नै बिरामीको सेवामा तल्लीन रहनुभएका डा राजभण्डारीलाई सङ्क्रमणसम्बन्धी दैनिक ४०० भन्दा बढी फोन र २५ इमेल आउने गर्दछन्।

“पहिले म ९ः०० बजे नै सुत्ने मान्छे, अहिले राति १२ः०० बजेसम्म बिरामीको फोन उठाउनमै बित्ने गर्दछ, अनिमात्र सुत्ने गर्दछु”, उनले भने, “धेरै फोन होम क्यारेन्टिन र आइसोलेशनमा बसेका सङ्क्रमितले कुन औषधि खाने, के गर्ने भनेर सोध्ने गर्दछन् ।”

उनलाई नेपाल मात्र नभएर विदेशमा रहेका नेपाली सङ्क्रमितले पनि उपचारका लागि सामाजिक सञ्जालबाट सोध्ने गरेका छन् । त्यसको पनि उपचार पद्धति उनले सिकाउछन्।

बिहान ९ः०० बजे नै अस्पताल पुगेपछि पुनः त्यहाँका बिरामीको उपचारमा उनी केन्द्रित हुन्छन्।

उनले बिरामी अवस्थादेखि चिकित्सक, स्वास्थ्यकर्मी र स्वास्थ्य सामग्रीबारे जानकारी लिन्छन्।

उनी बिरामीको उपचारको व्यवस्थापनका लागि आफ्नो कार्यकक्षमा नबसेको धेरै भइसक्यो।

“घरबाट आएपछि बिरामीको उपचारदेखि चिकित्सक सबैको समन्वय गर्नुपर्दछ”, उनले भने, “त्यसैले म आफ्नो कार्यकक्षमा बस्न भ्याउँदिन, म कार्यकक्षभन्दा पनि सङ्क्रमितको उपचार गर्नमा केन्द्रित हुन्छु ।” उनले कोरोना भाइरसको उपचारजस्तै २०५६ सालमा जनयुद्धका बेला भएका घाइते र भूकम्पमा घाइतेको उपचार पनि गरेका थिए।

“मैले त्यतिबेला सल्यानमा जाँदा बम पड्किएर घाइते भएकाको पनि उपचार गरे, अनि भूकम्पको महामारी पनि त्यस्तै घाइतेको उपचार गरेँ”, उनले भने, “मलाई विपद्को बेला सर्वसाधारणलाई उपचार गर्न अवसरका रुपमा पाएको छु, अहिले पनि महामारीका यस्तै सर्वसधारणको उपचार गरेका छु, म यस्तो बेला सर्वसाधारणको उपचार गर्न पाउँदा आनन्दित हुन्छु ।”

यस्तै बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालको अग्रपङ्क्तिमा सङ्क्रमितको उपचारमा संलग्न डा.प्रवीन नेपालको पनि दिनभरि उपचारमा व्यस्त हुन्छन्।

उनी बिहान ८ः०० बजे अस्पताल आएर आवश्यकताअनुसार राति ११ः०० बजेसम्म बिरामीको उपचारमा खटिन्छन्।

उनको दैनिकी कसरी बिरामीको उपचार राम्रो गरेर घर फर्काउने रहेको हुन्छ।

उपचारका सिलसिलामा उनी कहिले त घरै जान पाउनहुन्न। “घर जाने त थाहै हुँदैन, बिरामीको हेर्दाहेर्दै ढिला भए कहिले यतै अस्पतालमा बस्छु”, उनले भने, “सधैँ घर जान पाइँदैन ।”

उनलाई सङ्क्रमित बिरामी राख्नका लागि दैनिक ४०० भन्दा बढी फोन आउने गर्दछन् । उनले मोबाइलमा बज्ने घण्टी कति त फर्काउनु नै भ्याउन्नन। फोन गर्ने व्यक्तिले उनलाई पहिलो प्रश्न नै श्यया, आइसियु र भेन्टिलेटर छ भनेर सोध्ने गर्दछन् ।

“दैनिक आउने फोन श्ययाका लागि हुन्छ, भरसक मोबाइलमा बज्ने फोनको रेम्पोन्स गर्नुहुन्छ”, उनले भने, “तर हामी अस्पतालमा श्यया भएपछि तुरुन्तै बिरामीलाई बोलाउँछौँ, नभएर नाम र ठेगाना टिपेर जतिबेला श्यया खाली हुन्छ, त्यतिबेला खबर गरेर बोलाउँछौँ ।”

सङ्क्रमण दोस्रो लहरको फैलिएपछि गम्भीर प्रकृतिका बिरामी बढेका र सङ्क्रमणका कारणले युवाको निधन भएपछि आफूलाई पनि नराम्रो हुने गरेको उनको भनाइ छ।

अहिले अस्पतालमा आइसियु र भेन्टिलेटर कम भएकाले बिरामीले सामान्य श्ययामा राखेर उपचार गर्नु परेको उनी बताउँछन्।

“आइसियु र भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने बिरामीलाई आइसियु र भेन्टिलेटर दिन सकिने भन्ने पीडा हुन्छ”, उनले भने, “बिरामीलाई अहिले पैसा भएर पनि आइसियु र भेन्टिलेटर पाइएन जस्ता समस्या रहेका छन् ।”

उनका अनुसार पहिले एकजना नर्सले १० बिरामी र अहिले गम्भीर प्रकारका बिरामी हुनाले एकजनाले तीनजना मात्र बिरामी हेर्न सक्ने गर्दछन्।

“अहिले भएको अक्सिजन एक छिनमा सकिन्छ, फेरि ल्याउनु पर्दछ, कति बाँकी छ कति जनालाई पुग्छ भन्ने र कति खेर अक्सिजन आइपुग्छ भन्ने चिन्ता हुन्छ”, उनले भने, “बिहानको बिरामीलाई अक्सिजन चाहिए पनि कहिलेकाही साँझ मात्र पाइने गरेको छ ।” उनले पहिले र अहिले बिरामीको उपचार गर्नमा कुनै फरक नभएको बताए। “पहिले एप्रोन लगाएर बिरामीको उपचार गरिन्थ्यो भने अहिले पिपिई लगाएर गरिन्छ, मलाई खासै फरक भएको छैन”, उनले भने।

यसैगरी वीर अस्पतालमा सङ्क्रमितको अग्रपङ्क्तिमा काम गरिरहहेका डा अशेष ढुङ्गाना पनि बिहान ९ः०० बजे अस्पतालमा आएदेखि साँझ ६ः०० बजेसम्म निरन्तर बिरामीलाई प्रत्यक्ष भेटेर स्वास्थ्य अवस्थाबारे आइसोलेशन, आइसियु, भेन्टिलेटरमा गएर जानकारी लिन्छन्।

उनले बिरामीलाई अक्सिजन, औषधि, उपचारदेखि कोभिड–१९ मा अग्रपङ्क्तिमा खटिने चिकित्सकका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री जुटाउनका लागि खटिन्छन्।

अस्पतालको कोभिड–१९ व्यवस्थापनका संयोजकसमेत रहनुभएका डा ढुङ्गानाले अस्पतालमा कति बिरामीलाई चाहिएको बेला आइसियु र भेन्टिलेटर दिन नसक्दा आफूलाई पीडा लाग्ने गरेको बताए।

उनी अहिले धेरै जसो बिरामी गम्भीर प्रकृतिका रहेकाले सबैलाई अक्सिजन चाहिने गरेको बताउँछन्।

“साधारण श्ययामा पनि सिकिस्तै भएका बिरामी छन्, ती बिरामीलाई आइसियु र भेन्टिलेटर चाहिएको हुन्छ”, उनले भने, “तर हामीसँग भएका सीमित आइसियु र भेन्टिलेटरमा ती बिरामीलाई राख्न सकिरहेका छैनौँ, सबभन्दा ठूलो चुनौती श्यया बिरामीका लागि उपलब्ध गराउन सकिँदैन ।”

वीरमा नौ र राष्ट्रिय ट्रमा सेन्टरमा १० आइसियु रहेका छन् । अस्पतालमा विगत दुई हप्तामा सङ्क्रमितका १० बाट १६० बिरामी पुगेका छन्।

उनका अनुसार सीमित श्यया रहेकाले कतिपय बिरामी इमरजेन्सीमा आए पनि श्यया नपाएर अक्सिजन लगाएर त्यतिकै पर्खिरहेका हुन्छन् ।

बिहानदेखि रातिसम्म उनको मोबाइलको घण्टी बजिरहन्छ । धेरैजसो श्यया र अस्पतालमा बिरामी भर्ना गर्नका लागि उनलाई बिरामीका आफन्तले फोन गर्छन्। “धेरैजसो अस्पतालमा श्यया र आइसियुका लागि फोन गर्नुहुन्छ”, उनले भने, “अस्पतालमा खाली भएको अवस्थामा त्यस्ता फोन गर्ने बिरामीलाई सकभर श्यया र आइसियु उपलब्ध गराउँछौँ, कतिको त फोन नै उठाउन भ्याइँदैन।”

डा.ढुङ्गानाले पहिले जस्तो अहिले भने सङ्क्रमित बिरामीको उपचार गर्नका लागि स्वास्थ्यकर्मीले डर नमानेको बताए।

सबै स्वास्थ्यकर्मीले खोप लगाएको र सङ्क्रमितको उपचार गर्दा गर्दै सिकेर कुनै सङ्कोच विना नै जस्तासुकै बिरामीको उपचारमा अहिले स्वास्थ्यकर्मी खटिने गरेको उहाँ बताउँछन्।

“पहिले रोगको उपचार गर्ने पद्धतिमा नै शङ्का थियो”, उनले भने, “तर अहिले सङ्क्रमितको उपचार गर्न हामीलाई सामान्य नै लागिसकेको छ।”

नेपालगञ्जस्थित भेरी अस्पतालमा कार्यरत नर्सिङ अधिकृत ईश्वरी केसी दोस्रो लहर आएसँगै सङ्क्रमितको उपचारमा गर्दागर्दै आफैं पनि सङ्क्रमित भए। सङ्क्रमणमुक्त भएपछि उहाँ निरन्तर सङ्क्रमितको उपचारमा खटिरहेका छन। “अहिले पनि अस्पताल प्रशासनले बोलाएपछि जतिबेला पनि बिरामीको उपचारका लागि जानुपर्दछ”, उहाँले भन्नुभयो, “हाम्रो ड्युटीको समय नै छैन, बिरामीलाई केही समस्या प¥यो भने कुदिहाल्नुपर्दछ ।”

नर्सिङ अधिकृत केसी वैशाखको पहिलो हप्ता अस्पतालमा सङ्क्रमित बढेको अवस्थामा अक्सिजन र श्यया अभावमा उपचारमा समस्या भएको पनि अहिले अक्जिसनको उपलब्धतासँगै बिरामीको उपचार गर्न सजिलो भएको बताउँछन्।

उनी शुरुशुरुमा सङ्क्रमितको उपचार गर्न डर लागे पनि पछि आफूलाई पनि सङ्क्रमण भएपछि उपचारमा डर नलागेको बताउँछन्।

नेपालमा अहिले चार लाख ९७ हजार ५२ र छ हजार २४ को सङ्क्रमणबाट निधन भइसकेको छ। रासस


प्रतिक्रिया दिनुहोस्