प्रचण्डको विश्वास : सर्वोच्च अदालतले फेरि प्रतिनिधिसभा ब्युँताउँछ

प्रकाशित मिति : असार ५, २०७८ शनिबार


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि पनि सर्वोच्च अदालतले प्रतिनिधिसभाको पुनर्स्थापना गर्छ भन्ने विश्वास रहेको बताएका छन्।

नयाँ बानेश्वरस्थित संसद भवनमा विपक्षी गठबन्धनको बैठकपछि बाहिरिने क्रममा अध्यक्ष प्रचण्डले राष्ट्रपति र प्रधानमन्त्रीको कदम असंवैधानिक भएको भन्दै फेरि पनि सर्वोच्च अदालतले पुनर्स्थापना गर्छ भन्ने विश्वास व्यक्त गरे।

‘राष्ट्रपति र प्रधानमन्त्रीको कदम असंवेधानिक र अलोकतान्त्रिक मात्रै होइन, निरंकुश स्वेच्छाचारी र प्रतिगमनकारी छ, र हामी यसको शशक्त प्रतिवाद गर्छौँ। त्यो प्रतिवाद राजनीतिक र कानुनी दुवै ढंगले हुन्छ,’ अध्यक्ष प्रचण्डले भने, ‘हामीले हिजो १४९ जनाले हस्ताक्षर गरेर प्रधानमन्त्रीका लागि दाबी गरेका थियौँ, अब यो प्रतिगमनकारी कदमका विरुद्ध हुने सबै सांसदहरु हस्ताक्षरसहित हामी सर्वोच्च अदालत जान्छौँ । विश्वास छ, प्रतिनिधिसभाको पुनःस्थापनाको हुनेछ।’

षडयन्त्रमुलक ढंगबाट प्रतिनिधिसभाको विघटन गरिएको भन्दै अध्यक्ष प्रचण्डले सडक र अदालतबाट प्रतिरोध गर्ने पनि बताए।

उनले अदालतले संविधानको पक्षमा र निरंकुशताको विरुद्धमा फैसला गर्नेमा पनि विश्वास व्यक्त गरे।

उनले अगाडि भने – ‘वक्तव्य तपाईहरुले सुनिसक्नुभयो या प्राप्त गरिसक्नुभयो। त्यसमा मुख्यरुपमा राष्ट्रपति र प्रधानमन्त्रीको कदम असंवैधानिक र अलोकतान्त्रिक मात्रै होईन, निरंकुश, स्वेच्छाचारी र प्रतिगमनकारी छ। यसको सशक्त प्रतिवाद गरिनेछ भन्नेकुरा प्रष्ट तपाईहरुले सुनिसक्नुभएको छ । त्यसमा यो पनि भनिएको छ हामी यो प्रतिवाद राजनीतिक रुपले पनि गर्छौ र कानुनी रुपले पनि गर्छौ। कानुनी रुपले हामी हिजो हस्ताक्षर गरेर हामी १४९ जनाले जो दाबी प्रस्तुत गरेका थियौँ। र ति सबै नै र त्यो भन्दाबढी पनि यो प्रतिगमनकारी कदमका विरुद्ध हुने सबै सांसदहरुको हस्ताक्षरसहित हामि सर्वोच्चमा जान्छौँ र जसरी हामी संसद विघटन एउटा निरंकुश कदम हो। प्रतिगमनकारी कदम हो भनेर त्यसको सडकमा पनि र अदालतमा पनि राम्रै प्रतिवाद भयो र अदालतले अन्तत्ः संसद पुर्नस्थापना गर्ने निर्णय गर्यो। हामीलाई विश्वास छ बहुमत सांसद सदस्यहरुको हस्ताक्षरसहित हामी रिट निवेदनमा गईसकेपछि र संसदभित्रै अर्को विकल्प भएको कुरा प्रमाणित हिजो भएकै थियो। मध्यरातिमा बडो अपारदर्शी तरिकाले निरंकुश र षड्यन्त्रमुलक ढंगले जसरी संसद फेरी विघटन गरिएको घोषणा गरिएको छ त्यसको प्रतिवाद पनि त्यसरी नै गरिनेछ। सडकमा पनि र अदालतमा पनि हामीलाई विश्वास छ अदालतले फेरी एकचोटी लोकतन्त्रको पक्षमा, संविधानको पक्षमा, निरंकुशताका विरुद्ध फैसला गर्नेछ। नेपाली जनता पहिलो इपिसोडमा देखिएको नेपाली जनता संसद विघटन गर्ने प्रतिगमनकारी कदमका विरुद्ध छन् भन्नेकुरा लाखौँ जनता सडकमा आई देखाइसकिएको कुरा हो।’

अध्यक्ष प्रचण्डले स्थानिय तह देखिनै यसको प्रतिवाद गर्ने पनि बताए।

 

 


प्रतिक्रिया दिनुहोस्