ओली-देउवा दुवै जनाले प्रधानमन्त्रीमा दाबी गरेपछि राष्ट्रपतिले भनिन्-‘परामर्श गर्छु’

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । प्रधानमन्त्रीका लागि बहुमत आफूसँग रहेको दाबी गर्दै काँग्रेस सभापति शेरबहादुर देउवा र केपी शर्मा ओलीले दाबी पेश गरेपछि राष्ट्रपतिले परामर्शपछि निर्णय गर्ने भएकी छन्।

विपक्षी गठबन्धनसँग शीतल निवासमा राष्ट्रपति भण्डारीले कानुनी परामर्शपछि निर्णय लिने बताएकी हुन। यो सँगै विपक्षी गठबन्धनका शीर्ष नेताहरु राष्ट्रपति भवनबाट बाहिरिएका छन्।

बैठकमा सहभागी माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार राष्ट्रपतिले प्रधानमन्त्री ओली पनि बहुमत दावी गर्न आएको भन्दै आफूले कानुन हेर्ने बताएकी हुन्।

‘हामीले हस्ताक्षरसहितको दावी प्रस्तुत गर्‍यौं। उहाँले धेरै बोल्नुभएन। म कानुन पनि हेर्छु, प्रधानमन्त्री पनि दाबी गर्न आउनुभएको छ भन्नुभयो,’ श्रेष्ठले बताए।

प्रधानमन्त्री ओली १५३ र विपक्षी गठबन्धनका उम्मेद्वार शेरबहादुर देउवा १४९ जना सांसदको हस्ताक्षर लिएर शीतल निवास पुगेका थिए।

हाल संसदमा २७१ जना सांसद छन्। तर, ओली र देउवाले दाबी गरेको प्रक्रियामा ३९ जना सांसदको हस्ताक्षर दुवै तर्फ देखिएको छ। हस्ताक्षरको अध्ययनपछि राष्ट्रपति कार्यालयले निर्णय लिने बुझिएको छ।


प्रतिक्रिया दिनुहोस्