नेपालमा ४९२ कोरोना संक्रमित भेन्टिलेटर र १,७४८ जना आईसीयूमा

प्रकाशित मिति : जेष्ठ ३१, २०७८ सोमबार


काठमाडौं । कोरोना संक्रमित बिरामीलाई अक्सिजनको कमी हुने क्रम बढ्दै गएसँगै भेन्टिलेटर र आईसीयूमा उपचाररत संक्रमितको संख्या पनि बढ्दै गएको छ । पछिल्लो समय अस्पताल आउने अधिकांश संक्रमितलाई अक्सिजन दिनुपर्ने अवस्था रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताउँदै आएका छन् ।

हाल नेपालमा ४९२ कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले १ हजार ७४८ संक्रमितले आईसीयूमा उपचार गराइरहेका छन् ।

मन्त्रालयका अनुसार प्रदेश–१ मा ५६, प्रदेश–२ मा ५१, वाग्मती प्रदेशमा सबैभन्दा धेरै ३१४ कोरोना संक्रमित भेन्टिलेटरमा उपचाररत छन् । गण्डकीमा ३६, लुम्बिनीमा–१५, कर्णालीमा–८ र सुदूरपश्चिममा १२ संक्रमित भेन्टिलेटरमा रहेका मन्त्रालयले जनाएको छ ।

आईसीयूमा सबैभन्दा धेरै वाग्मती प्रदेशमा ९४० उपचाररत छन् । प्रदेश १ मा १९१, प्रदेश २ मा २२५, गण्डकी प्रदेशमा १३३, लुम्बिनीमा १५३, कर्णालीमा ५९ र सुदूरपश्चिम प्रदेशमा ४७ संक्रमितले आईसीयूमा उपचार गराइरहेका छन् । मन्त्रालयको तथ्यांक अनुसार भेन्टिलेटर र आईसीयूमा उपचार गराउने संक्रमितको संख्या बढ्दै गएको छ ।

हाल नेपालमा कूल सक्रिय कोरोना संक्रमितको संख्या १ लाख १५ हजार ८५२ रहेको छ । मृत्यु हुनेको संख्या ५ हजार ८४७ पुगेको छ । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ८८ हजार ६४५ पुगेको छ भने निको हुनेको संख्या ३ लाख ६६ हजार ९४६ पुगेको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्