आफ्नै पार्टीका उम्मेद्वारलाई भोट नहाल्ने प्रवृत्ति गम्भीर : एमाले

प्रकाशित मिति : असार ५, २०७८ शनिबार


नेकपा(एमाले)ले बागमती प्रदेश अन्र्तगतको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा कतिपय जनप्रतिनिधिले पार्टी निर्देशनको अवज्ञा गरेको भन्दै त्यसलाई गम्भिरतापूर्वक लिएको बताएको छ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा(एमाले)को स्थायी कमिटी बैठकले आज बागमती प्रदेशको हेटौंडामा भएको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा पार्टी निर्देशनको अवज्ञा गरिएको प्रति पार्टीले गम्भिरतापूर्वक लिने र भत्र्सना गर्ने निर्णय गरेको छ।

पार्टीको आधिकारिक उम्मेदवारको विपक्षमा मतदान गर्ने क्रियाकलापको भत्र्सना गरिएको परराष्ट्र मन्त्री तथा एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीले बताए।

उनले भने – ‘आज बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा पार्टीको निर्देशनको अवज्ञा गर्दै कतिपय नेताहरु, कतिपय जनप्रतिनिधिहरुले जुन ढंगका क्रियाकलापहरु गर्नुभयो । त्यसलाई बैठकले अत्यन्त गम्भिरतापूर्वक लिएको छ । त्यस्ता प्रवृत्तिहरु पार्टीको आधिकारिक उम्मेदवारको विरोध गर्ने, विपक्षमा मतदान गर्ने जस्ता क्रियाकलापको भत्र्सना गरेको छ।’

सञ्चारकर्मीको जिज्ञासाको जवाफ दिदैँ मन्त्री ज्ञवालीले सरकारले अध्यादेशबाट नभई संसदको नियमित बैठकबाट बजेट ल्याउने पनि बताए।

उनले भने – ‘अहिले लगत्तै क्याबिनेट बस्दैछ। सम्भवत्ः यो क्याबिनेटले अधिवेशन बोलाउने निर्णय गर्छ । त्यसकारण अध्यादेशबाट ल्याउने कुनै सोच छैन।’

मन्त्री ज्ञवालीले तत्काल देशमा स्वास्थ्य संकटकाल नलगाइने पनि स्पष्ट पारे।

आजको स्थायी कमिटी बैठकमा प्रधामन्त्री ओलीलाई कोभिड १९ विरुद्धको भ्याक्सिन लगायत अन्य आवश्यक वस्तुहरुको लागि अन्तर्राष्ट्रिय सहायता परिचालन गर्न र ति चिजहरुको शिघ्र आपूर्तिको लागि थप पहल गर्न, एकिकृत ढंगले स्वास्थ्य प्रणालीलाई अगाडी लैजानको निमित्त संघीय सरकार, प्रदेश सरकार र स्थानिय सरकारबीच समन्वयको जरुरी भएको हुनाले आवश्यक पर्दा नयाँ कानुनी व्यवस्था गरेर भएपनि, नयाँ संरचना बनाएर भएपनि कदम चाल्न सुझाव दिइएको पनि मन्त्री ज्ञवालीले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस्