उपनिर्वाचनमा स्वास्थ्य मापदण्डमा कडाई : संक्रमितका लागि छुट्टै बुथ

प्रकाशित मिति : ३ जेष्ठ २०७८, सोमबार  ५ : ०७


काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा स्वास्थ्य मापदण्डलाई कडाईका साथ पालना गराउने बताएको छ।

कोभिड १९ संक्रमणको जोखिम बढिरहेका बेला हुनलागेको राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनलाई स्वास्थ्यका दृष्टिकोणबाट पनि सुरक्षित बनाउन आयोग स्वयम्ले पनि स्वास्थ्य सुरक्षा मापदण्ड जारी गरेको छ । निर्वाचन आयोगले मतदान स्थलमा रहने सबै व्यक्तिले स्वास्थ्य सुरक्षा मापदण्डको घेरामा रहेर काम गर्न उपनिर्वाचन स्वास्थ्य सुरक्षा मापदण्ड २०७८ लागु गरेको छ ।

सोमबार न्यूज एजेन्सी नेपालसंग कुरा गर्दै आयोगका सह प्रवक्ता कोमल प्रसाद धमलाले निर्वाचनको दिन मतदान स्थल र मतदान केन्द्रमा प्रवेश गर्ने सबैले ७२ घण्टा अवधी भित्रको कोभिड १९ संक्रमण भए÷नभएको पिसिआर रिपोर्ट ल्याउनुपर्नै अनिवार्य गरिएको बताए।

यस्तै मतदान केन्द्रमा ३ वटा बुथ राखिने भएको छ । यसअघि दुईवटा बुथ मात्रै राखिन्थ्यो । कोभिड १९ संक्रमित मतदाता पनि हुनसक्ने अनुमानका साथ ३ वटा बुथ राख्ने व्यवस्था मिलाईएको हो।

मतभारको हिसाबले प्रदेशसभा सदस्यको बुथ र स्थानीय सरकार प्रमुख उपप्रमुख को बुथको साथै कोभिड १९ संक्रमित भएका मतदातालाई छुट्टै बुथको व्यवस्था गरिने सहप्रवक्ता धमलाले जानकारी दिए।

उहाँले भन्नुभयो “कोरोनाकै बीचमा गर्नुपर्ने भन्ने कुरामा यो कानूनी बाध्यात्मक व्यवस्था हो । राष्ट्रियसभा सदस्यको सन्र्दभमा रिक्त रहेको ३५ दिन भित्र निर्वाचन गरिसक्नुपर्ने छ भन्ने कानूनमा उल्लेख छ । त्यसैले यही जेठ ६ गते बागमती प्रदेशको अन्य समुहबाट र जेठ १७ गते अन्य समुहबाट प्रतिनिधित्व गर्नका लागि १÷१ जनाको निर्वाचन हुदैछ । आयोगले स्वास्थ्य सुरक्षाको मापदण्डलाई अलि कडाईका साथ थप व्यवस्थित बनाएर निर्वाचन व्यवस्थापन गर्ने निर्णय गरेको छ ।”

मतदानको दिन मतदान केन्द्रमा खटिने सबै कर्मचारी, सुरक्षाकर्मी तथा स्वयंसेवकले पिपिई लगाएर कार्यसम्पादन गर्ने व्यवस्था मिलाईने सहप्रवक्ता धमलाले जानकारी दिए।

मतदान अधिकृतले एक मतदान केन्द्रमा २५ जनाले मतदान गरेपछि मतदान कक्षमा रहेका सम्पुर्ण सामाग्रीहरु निसंक्रमण गराउने छन्।

आगामी जेठ ६ र जेठ १७ गते राष्ट्रियसभा सदस्य पदको लागि उपनिर्वाचन हुनेछ। बागमती प्रदेशमा अन्य समूहबाट १ पदको लागि र लुम्बिनी प्रदेशमा पनि अन्य समूहबाट १ पदको लागि उपनिर्वाचन गर्न लागिएको हो।

बागमति प्रदेशमा जेठ ६ गते र लुम्बिनी प्रदेशमा जेठ १७ गते उपनिर्वाचन हुदैछ। बागमति प्रदेशमा ३ सय ४८ जना कुल मतदातामा १ सय १० जना प्रदेशसभा सदस्य र २ सय ३८ स्थानीय प्रतिनिधिहरु छन्।

त्यसैगरी, लुम्बिनी प्रदेशमा २ सय ९६ कुल मतदाता छन् । ७९ प्रदेशसभा सदस्य र २ सय १७ स्थानीय प्रतिनिधिहरु छन्।


प्रतिक्रिया दिनुहोस्