आवश्यक परे स्वास्थ्य संकटकाल घोषणा गरौ : बिपुल पोखरेल

प्रकाशित मिति : २ जेष्ठ २०७८, आइतबार  ५ : ५३


नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेलले कोरोना महामारीको नियन्त्रण गर्न सरकारले सम्पूर्ण स्रोत साधनको परिचालन गर्नुपर्ने बताउनुभएको छ ।

आइतबार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै अध्यक्ष पोखरेलले मुलुक कोरोना महामारीका कारण संकटग्रस्त अवस्थामा रहेकाले यसको नियन्त्रण गर्न सिंगो राज्य संयन्त्र एक भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले कोरोनाविरुद्ध राज्यको सबै क्षेत्र एकजुट भएर लड्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले भन्नुभयो – ‘राज्यले सम्पूर्ण ध्यान कोरोना विरुद्धको अभियानमा जोड्न जरुरी छ । जनस्वास्थ्य नै सबैभन्दा ठुलो कुरा हो । जनस्वास्थ्यका लागि सरकारले आफ्ना सबै स्रोत, साधन र जनशक्ति सबै प्रयोग गरोस् भन्ने हाम्रो बिनम्रताका साथ आग्रह छ ।’

कोरोना रोकथाम तथा नियन्त्रणमा आवश्यक परे स्वास्थ्य संकटकाल घोषणा गर्न पनि उहाँको आग्रह छ । धेरै विकास बजेटहरु खर्च नभएर फ्रिज हुने विगतको परम्परा रहेको भन्दै उहाँले यस वर्ष विकास पूर्वाधारका लागि रकमान्तर हुने बजेट स्वास्थ्य क्षेत्रमा केन्द्रीत हुनुपर्ने पनि बताउनुभयो । उहाँले भन्नुभयो – ‘धेरै विकास बजेट खर्च नभएर फ्रिज हुने गरेको छ । आवश्यक पर्छ भने स्वास्थ्य संकटकाल घोषणा गरियोस् अथवा स्वास्थ्य क्षेत्रले भनेजस्तै रेड अलर्ट घोषणा गरियोस् । जे गरेर सहज हुन्छ । अन्य विकास पूर्वाधारका रकम पनि जनस्वास्थ्यका लागि केन्द्रीत गरियोस् ।

अध्यक्ष पोखरेलले महामारीको बखत पत्रकारिता क्षेत्रले जोखिम मोलेर सुचना प्रवाहको काम गरिरहेको भन्दै आगामी दिनमा पनि निरन्तर लाग्न अपिल गर्नुभएको छ । प्रेस काउन्सिल र पत्रकार महासंघले जारी गरेको आचारसंहिता र कोभिड निर्देशिकालाई अनुशरण गर्न उहाँको आग्रह छ । महामारीको बेलामा कृतिम कालोबजारी र अत्यावश्यक सेवामा चर्को मुल्य लिने गरिएकाले त्यस्तो गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउन सरकार समक्ष उहााले माग गर्नुभयो । उहाँले भन्नुभयो – ‘कमिशन खेल, कृतिम कालोबजारी, एम्बुलेन्स, हेलिकप्टरले चर्को मुल्य लिएको बदनियत छ । यसलाई एक्सपोज गरेर राज्यले कारबाहीको दायरामा ल्याओस् भन्ने पत्रकार महासंघको माग छ ।’

अध्यक्ष पोखरेलले कोरोना विरुद्धको खोपको सहज पहुँच पु¥याउन पनि सरकार सँग माग गर्नुभएको छ । राज्यका सम्बन्धित निकायहरुले महामारीको यस बेलामा नागरिकहरुलाई पर्याप्त सुचना नदिएको भन्दै सरोकारवाला मन्त्रालयहरुले पर्याप्त सुचना दिनुपर्ने बताउनुभयो । उहाँले कोरोन विरुद्ध तत्कालै अल्पकालिन र दिर्घकालीन योजना ल्याउन पनि माग गर्नुभएको छ ।


प्रतिक्रिया दिनुहोस्