माओवादी केन्द्रलाई सर्वनाश हुनबाट बचाउने हो भने …..

प्रकाशित मिति : असार ५, २०७८ शनिबार


विजय प्रकाश वनेम (विजय किरात )

पृष्ठभूमि
गत फागुन २३ को सर्वोच्च अदालतको फैसलाले नेकपालाई विघटन गरेर नेकपा (माओवादी केन्द्र ) र एमालेलाई ०७५ जेठ २ को अवस्थामा फर्काएपछि नेपालको राजनीतिमा कम्पन पैदा भएको छ । यो घटनाले नेपालमा कम्युनिस्टहरूको एकता चाहनेहरूलाई त क्षणिक निराश बनायो नै सङ्गै हामी माओवादीहरूलाई अलि बढी धक्का लाग्यो । किनकि कम्युनिस्टहरूको बृहत् शक्ति निर्माण गर्ने अवधारणा हामीले नै अघि सारेका थियौँ। साझा चुनावी घोषणा सहित बनेको बाम गठबन्धन जनताबाट अनुमोदन हुँदै पार्टी एकतासम्म पुगेको शक्तिशाली पार्टीको एकता खारेजीले हामी सबैलाई सोच्न बाध्य तुल्याएको छ ।

वास्तवमा हामी कहाँनेर चुक्यौ त ? के कम्युनिस्ट आन्दोलन फेरि सशक्त भएर अघि बढ्छ त ? के हामीले लिएको कार्यनीति सही छन् त ? के हामी आफ्नै शक्तिमा विश्वास गर्न सक्दैनौँ ? के माओवादी पार्टीले गुमेको आफ्नो शक्ति पुनः आर्जन गर्न सक्छ ? यी र यस्ता कैयौँ प्रश्नहरूको जबाफ ग्राउन्डमा रहेका कार्यकर्ता र समर्थकहरूले खोजिरहेका छन् । उठेका प्रश्नहरूको जबाफ दिनु अघि हाम्रो नेतृत्व र हामी सबैले निर्मम भएर समीक्षा गर्न तयार हुनुपर्दछ ।

 

कहाँनेर चुक्यौँ त ?

ऐतिहासिक जनयुद्ध र जनआन्दोलनको निर्विकल्प नेतृत्व गर्दै गणतन्त्र,सङ्घीयता सहितको लोकतान्त्रिक गणतन्त्रात्मक संविधान, समानुपातिक समावेशिता,धर्म निरपेक्षता, स्वतन्त्र परराष्ट्र नीति लगायत युगान्तकारी एजेन्डाहरूको संस्थागत उपलब्धिहरूले सुसज्जित हाम्रो पार्टीले विगतमा आफूभित्रको अन्तर्विरोध लाई उचित व्यवस्थापन गर्न सकेन । आन्दोलनलाई अघि बढाउने सवालमा राष्ट्रिय परिस्थितिको विश्लेषण गर्ने र अघि बढ्ने विषयहरूमा एकरूप समझदारी कायम गर्न नसक्दा माओवादीले पटक पटक विभाजन  बेहोर्नुपर्‍यो । विश्वका कम्युनिस्ट आन्दोलनहरूमा भएका ठुला ठुला बहस र अन्तर्विरोध हरूबाट शिक्षा लिँदै अघि बढ्न सकेनौँ ।

साना साना व्यावहारिक र प्राविधिक मतभेदहरूलाई बेलैमा सम्बोधन र व्यवस्थापन गर्न नसक्दा समय क्रममा त्यसले सैद्धान्तिक आकार लिँदै फुट् सम्मै पुग्ने विनाशकारी महारोगको सिकार हुन पुग्यौ । पार्टी भित्रको गुटगत क्रियाकलापहरूका कारण लामो समयदेखि त्याग र समर्पण गरेका सच्चा र इमानदार कार्यकर्ताहरू अपहेलित र अपमानित हुँदै जान थाले परिणामस्वरूप उनीहरूले पलायनको बाटो रोजे कि त अर्कै बाटो समात्न पुगे । बचेकाहरूको अगाडि कि गुटहरू को सामु आत्मसमर्पण कि त निष्क्रिय भएर बस्नुपर्ने परिस्थिति सृजना हुँदै जान थाल्यो ।

हेटौँडामा सम्पन्न पार्टीको सातौँ राष्ट्रिय महाधिवेशनसम्म आइपुग्दा पनि पार्टी सङ्ग दसौँ हजार पूर्णकालीन कार्यकर्ताहरू बाकी नै थिए ।पूर्णकालीन कार्यकर्ताहरूलाई राजनैतिक कार्यदिशा अनुरूप सामाजिक तथा सांस्कृतिक रूपमा रूपान्तरित गर्दै व्यवस्थित आर्थिक उत्पादनमा परिचालन गर्नुको सट्टा अघोषित तरिकाले सक्नेले राजनीति गर नसक्ने घर जाऊ भन्ने जस्तै नीति लिन पुग्यौँ, त्यसले उनीहरूमा व्यापक निराशा छायो ।

नेतृत्वको ठुलो पङ्क्ति सहरमुखी हुन थाल्यो, ग्रामीण क्षेत्रका किसान र औद्योगिक क्षेत्रका श्रमिकहरूसँग एकाकार हुन छाड्यौ । स्वैच्छिक अवकाशप्राप्त पूर्व जनमुक्ति सेनाहरूले सामान्य जीवन निर्वाहका लागि राज्यबाट केही रकम प्राप्त गरीपने उतिकै लडेका तर अयोग्यको अपमानित बिल्ला भिराई बहिर्गमन बनाइएका जनमुक्ति सेनाका योद्धाहरूलाई उचित व्यवस्थापन गर्न सकेनौँ ।

सहिद,बेपत्ता परिवारहरू र जनयुद्ध र जन आन्दोलनका घाइतेहरूसँग दुरी बढाउन थाल्यौँ र उनीहरूले हामीलाई बिस्तारै पराई देख्न थाले, ठिक यहीनेर हाम्रा विरोधीहरूले उनीहरूलाई इमोस्नल ब्ल्याकमेलिङ गर्दै हाम्रो विरुद्धमा भड्काउन थाले । पार्टी भित्र जनयुद्ध लडेका र शान्ति प्रक्रियापछि ध्रुवीकृत भएकाहरुबिचमा लक्षण रेखा कोरिन थाल्यो जसले पार्टीमा जनयुद्धबाट आएका बाहेकलाई निरुत्साहित बनाउन थाल्यो र आउन चाहने नयाँ पुस्तालाई माओवादी आन्दोलनमा जोडिन अवरोध पैदा गर्‍यो । पार्टी भित्र मौलाउँदै गइरहेको सांस्कृतिक र आर्थिक अपारदर्शीताको सस्कृतिले जबरजस्त रूप लिन थाल्यो । जन सम्बन्ध बिस्तार गर्ने र पार्टी निर्माण गर्न गतिशील योजनाहरू तयार पार्न होइन अन्य पार्टी र सक्तीहरूसँग भर परि सहयोगको अपेक्षासहित तिनीहरूको ढोका चहार्ने काममै नेतृत्व तहका नेताहरूको दिनचर्या बन्न थाल्यो ।

पार्टीका दोस्रो तहका नेताहरूले उपल्लो तहको नेताहरूको चाकडी गर्नुपर्ने, अन्यले दोस्रो वा तेस्रो तहका नेताहरूको चाकडी गर्नुपर्ने विकृत संस्कार बढ्दै जान थाल्यो । पार्टीमा कामको उचित मूल्याङ्कन,अवसरहरूको समान वितरण नगर्ने बरु गणेश प्रवृत्तिका पात्रहरूलाई नै पुरस्कृत गर्दै जानाले फिल्डमा खट्ने र दुख गर्ने कार्यकर्ताहरूमा समेत अल्छीपना बढ्ने र गफाडी एवं धूर्त चाकडिबाजहरुको बोलवाला चल्ने स्थिति पैदा हुन थाल्यो । यस्ता दर्जनौँ समस्याहरूले नै पार्टी निर्माणको अभियानलाई अवरुद्ध पारिरहेको छ ।

विनाशबाट पार्टीलाई कसरी बचाउने ?
समस्याहरू त हामीसँग बग्रेल्ती छन् नै तर रोएर वा हताश बनेर यी समस्याहरूमाथि विजय हासिल गर्न सकिँदैन । जबसम्म समस्याहरूको समाधान गर्न सकिँदैन पार्टीलाई यो ओरालो यात्राबाट रोक्न पनि सकिँदैन । असत् पार्टीलाई नयाँ जीवन दिन यहाँबाट सुरु गरौँ ।

१, बाम गठबन्धन र पार्टी एकतादेखि यताका हाम्रा कार्यनीति,योजनाहरू र क्रियाकलापको निर्मम समीक्षा गरौँ । कहाँ कहाँबाट कमजोरी भयो आत्मालोचना गर्न तयार बनौँ ।
२,समाजवादी क्रान्तिको कार्यदिशाको स्पष्ट खाका तयार पारौँ । जनताको जनवादलाई अपनत्व ग्रहण गर्दै यसलाई अझ विकसित र समृद्ध बनाऔँ (मार्क्सवाद- लेनिनवाद र माओवाद ) प्रति दृढ बन्दै माओवादी पार्टीको ऐतिहासिक विरासतप्रति गर्व गर्दै समाज र विभिन्न वामपन्थी समूहहरूको मनोविज्ञानलाई समेतलाई ध्यान दिँदै पार्टीको नयाँ नामकरण गर्न तयार बनौँ ।

३,अरूको बैसाखी टेकेर यात्रा गर्न खोज्ने परनिर्भर सोच परित्याग गरौँ,आफ्नै शक्तिमा विश्वास गरौँ ।

४,माओवादी आन्दोलनलाई पुनर्गठन गर्न हिजो विभाजित भएका सबै सक्तीहरूसँग राजनीतिक कार्यदिशाको आधारमा साझा बिन्दु खोज्दै ध्रुवीकरणका लागि पहल थालौँ ।
५, ०५५ साल देखि ०६२र६३ को सेरोफेरोमा जन्मिएका बालबालिकाहरू आज १६-२५ वर्ष उमेर पुगेका छन् तिनीहरूले माओवादी आन्दोलन बुझेका छैनन् देखेका छैनन् र भोगेका छैनन् तर यो पुस्तामा अधिक परिवर्तनको चाहना छ । उनीहरूलाई पार्टीमा सङ्गठित गर्ने र थप क्रान्तिका लागि तयार पार्ने,उत्तराधिकारीहरूको पङ्क्ति निर्माण गर्ने व्यवस्थित साङ्गठनिक योजना बनाउ ।

६, परिवर्तनको प्रक्रियालाई हामीले सही ढङ्गले पक्रेर जनतामाझ बुझाउन नसक्दा हामी मध्ये कसैले भुइँको टिप्ने अतृप्त चाहना राख्दा पोल्टाको झरेको समेत देख्न सकेनौँ । त्यसको सट्टामा अन्य पार्टीले जनताकामा पिठो लगेर बिकाए तर हामीले चामल बिकाउन सकीरहेका छैनौँ । यहाँबाट शिक्षा लिँदै किसान,मजदुर,महिला,जनजाति,मधेसी,दलित अल्पसङ्ख्यक र उत्पीडित  समुदायसँग व्यापक अन्तर्क्रिया गरी जनसम्बन्ध बिस्तार गरौँ ।

७,सहिद,बेपत्ता परिवारलाई भेट्न जाऔँ र उनीहरूसँग संवाद गरौँ । पुर्बजनमुक्ती सेनाका कमरेडहरूसँग अन्तर्क्रिया गरौँ र उनीहरूलाई सङ्गठित गरौँ ।
८,अब हिजोका माओवादी समूह र क्रान्तिकारी शक्ति बाहेक अन्य सक्तीहरूसँग एकता होइन गठबन्धन र तालमेल मात्र गरौँ । सैद्धान्तिक रूपमा दक्षिणपन्थी संशोधनवाद,वामपन्थी अवसरवाद र मध्यबामपन्थी अवसरवादका विरुद्ध सचेततापूर्वक वैचारिक सङ्घर्ष गरौँ ।

९, सरकार निर्माण गर्ने वा भत्काउने अस्थायी खेलमा नलागौँ, वर्तमान ओली सरकारले गरेका भ्रष्टाचार,अनियमितता लगायत संविधानबिरोधि,जनविरोधी एवं राष्ट्र हित विरोधी क्रियाकलापहरूको भन्डाफोर गरौँ । अमेरिकी सुरक्षा रणनीति अन्तरगतको सहयोग सम्झौता (एमसिसी) को खारेजीका लागि सशक्त रूपमा लागौँ ।

१०, केन्द्रीय कमिटीका नेताहरू काठमाडौँमा मात्र बस्ने होइन,पार्टीका सिनियर नेताहरूले देशको ७७ वटै जिल्लाहरूमा गई कम्तीमा ४ र ४ महिनाको अन्तरमा एउटा जिल्लामा न्यूनतम १५ दिन सम्म पालिकार पालिकामा पुगी,साङ्गठनिक र राजनैतिक  तथा जनपरिचालनको नेतृत्व गर्ने योजना तत्काल लागु गरौँ, प्रदेश कमिटी र जिल्ला कमिटीका कमरेडहरू वडा र टोल स्तरमा जाऔँ । त्यसपछि नेता र कार्यकर्ताहरूको मूल्याङ्कन त्यहीँबाट गरौँ । गुटबन्दीपूर्ण क्रियाकलापहरूको अन्त्य गरौँ । सबै नेताहरूलाई समानरुपमा हेर्ने र उहाँहरूको बिचारको सम्मान गर्ने फिल्डमा स्थापित गर्ने गरौँला ।

११, तत्काल पार्टी र जबसहरुको सबै तहका संरचनाहरू बनाई लागू गरौँ र सबै तहहरूको भेला र सम्मेलन गर्दै आसन्न सबै तहहरूको निर्वाचनको तयारीमा एकताबद्ध भएर जुटौँ ।

पार्टी अवश्य बन्नेछ । ओरालो लागेको हाम्रो यात्रा रोकिनेछ । हामी फेरि पनि विजयी बन्नेछौँ । नयाँ शक्ति आर्जन गर्नेछौँ र बाकी आन्दोलनको नेतृत्व पनि हामीले नै गर्नेछौँ अन्यथा कामजोरिहरुबाट शिक्षा नलिने हो भने हाम्रो सर्वनाश हुनबाट कसैले बचाउने छैन ।

लेखक नेकपा (माओवादी केन्द्र)को प्रदेश कमिटी सदस्य तथा ताप्लेजुङ जिल्ला कमिटीका अध्यक्ष  हुन 


प्रतिक्रिया दिनुहोस्