परशुराम जयन्ती र उनको पौराणिक कथा

प्रकाशित मिति : असार ९, २०७८ बुधबार


–थानेश्वर पाण्डेय
आज अक्षय तृतीया अर्थात् वैशाख शुक्ल तृतीया । आजका दिन हिन्दू परम्परामा विहानै उठेर कसैसँग नबोली स्नानादि नित्यकर्म गरी जौ, मकै, गहुँ, चना आदि पिसेर तयार पारिएको सातुलाई सख्खर, मह, घ्यू, मरिच, पिपला आदिको गुलियो मिश्रणसँग खाने गरिन्छ । पाचन प्रक्रियाका लागि लाभदायक यस्तो सातुको कृष्ण–सुदामासँग पनि प्रसङ्ग गासिएको छ ।

वैशाख शुक्ल तृतीयाका दिन नै सत्य युगको आरम्भ भएको थियो । यसैगरी आजका दिन शिव–पार्वती विवाह भएको थियो भने व्यासले पुराणलेखनको आरम्भ पनि आजका दिनबाट गरेका थिए । यस्ता विविध कार्यका कारण पनि आजको दिन ऐतिहासिक बन्न पुगेको छ । पुराणहरुमा आजको दिनलाई भगवान् परशुरामको जन्म भएको विशेष दिनका रुपमा चर्चा गरिएको छ ।

परशुरामलाई विष्णुको छैंठो अवतारका रुपमा पूजा गरिन्छ । उनी व्रह्माका मानस पुत्र भृगुका वंशज भएकाले उनलाई भार्गवका नामले पनि चिनिन्छ । उनलाई उनका बाबु जमदग्निले उमर हुने वरदान दिएकाले उनी अष्ट चीरञ्जीजवी मध्येका एक हुन् । उनी विष्णुको अवतार भए पनि शिवका परम भक्त थिए ।

विष्णुको अवतार भएपनि परशुरामले शिवको घोर तपस्या गरे । शिवले उनलाई दैत्यहरूको हनन गर्ने आज्ञा दीए । परशुरामले शत्रुहरूसंग युद्ध गरी सत्यको रक्षा गरे । त्यसैले शिवले परशुरामलाई दिव्य परशुसहित अनेक दिव्यास्त्र प्रदान गरे । उनको नाम राम थियो तर उनलाई शिवले दिव्य परशु अर्थात बन्चरो बरदान दिएपछि उनको नाम परशुराम भएको थियो । उनका विषयमा पुराणहरुमा वर्णन भएका विविध कथालाई यहाँ चर्चा गरिएको छ ।

कान्यकुब्ज (कन्नौज) नामक राज्यमा गाधि नामक राजाकी सत्यवती नामक एउटी कन्या उत्पन्न भइन् । ऋचीक ऋषिले १००० वटा सेतो कान भएका घोडा राजालाई दिएपछि राजा गाधिले ऋचीकसित आफ्नी कन्याको विवाह गरिदिए । सत्यवतीले आफ्नो ससुरा महर्षि भृगु प्रसन्न भएको समयमा उनीसित आफ्नो तथा आफ्नी आमाको लागि पुत्रको याचना गरिन् । भृगुले सत्यवतीलाई व्रह्मणयोनीको पुत्र प्राप्तिका लागि र आमा (गाधिपत्नी) लाई क्षत्रीययोनीको पुत्रप्राप्तिका लागि चरु अभिमन्त्रण गरेर खानका लागि दिए । ऋतुकाल उपरान्त स्नान गरेर चरु खाएपछि सत्यवतीले गूलरको रुखमा र उनकी माताले पीपलको रुखमा आलिंगन गरेमा दुबै जनालाई इच्छानुसार आफ्नो आफ्नो वर्णका पुत्र प्राप्त हुनेछन् भन्ने वरदान थियो ।

सत्यवतीकी आमा छल गरी छोरीले दिएको चरु नखाई छोरीको भागको चरु खाइन् । यसरी चरु फेरबदल भएको कुरा ऋषि भृगुले थाहा भएर उनले सत्यवतीसंग भने कि चरु साटिएका कारण तिम्री माताको पुत्र क्षत्रीय भएर पनि ब्राह्मणोचित व्यवहार गर्नेछ तथा तिम्रो छोरो ब्राह्मण भएर पनि क्षत्रियोचित आचार वाला हुनेछ । यो कुरा थाहा पाएर सत्यवतीले धेरै अनुनयविनय गरेपछि भृगु खुसी भए । उनले सत्यवतीको छोरो ब्राह्मणोचित नै हुने किंतु नाति चाहिँ क्षत्रीयजस्तो कार्य गर्ने हुनेछ भन्ने बरदान दिए । समयान्तमा माता गाधिपत्नीबाट विश्वामित्र र सत्यवतीबाट जमदग्नि मुनि जन्मिए । जमदग्निले राजा प्रसेनजितकी पुत्री रेणुकासँग विवाह गरे । रेणुकाका पाँच पुत्र भए—रुक्मवान्, वसुमन्, सुषेण, विश्वावसु तथा राम (परशुराम) । उनी भृगुको बरदान अनुसार सानैदेखि क्षत्रियोचित आचारविचारका थिए ।

पृथ्वीमा क्षत्रीयहरुको अत्याचारको भार बढेपछि समस्त क्षत्रीयको नाश गर्न भगावन् विष्णुले परशुरामको रुपमा अवतार ग्रहण गरेका थिए ।एक पटक परशुरामकी आमा रेणुका नदीस्नान गर्न गएका समयमा राजा चित्ररथलाई देखेर मुग्ध भइन् । उनी आश्रममा पुगेपछि मुनि जमदग्निलाई दिव्य ज्ञानबाट समस्त घटनाको ज्ञान भयो । उनले आवेशमा आएर एकएक गरी आफ्ना चारै छोराहरूलाई माता रेणुकाको हत्या गर्ने आदेश दिए किंतु कोही पनि तयार भएन तर पाँचौं पुत्र परशुरामले तुरन्त पिताको आज्ञाको पालन गर्दै आमाको हत्या गरिदिए ।

जमदग्निले आफ्ना चारै पुत्रहरूलाई जडबुद्धि हुने श्राप दिए र परशुरामलाई बरदान माग्न भने । परशुरामले माताको पुनर्जीवन र आफ्ना दाइहरूका लागि क्षमादान मागे । जमदग्नि ऋषिले परशुरामका दाइरुलाई माफी दिई उनलाई अमरताको बर दिए । यसरी पिताको बरदानमा उनले अमरत्व (अष्टचीरञ्जीवित्व) प्राप्त गरे ।

मातृहत्याको पापबाट मुक्त हुन परशुराम तीर्थाटनमा गएका बेला जमदग्नीको आश्रममा सिकार खेल्दै राजा कार्तवीर्यार्जुन आइपुगे । ऋषि जमदग्नीले पनि उनीहरूको राम्रो स्वागत गरे । राजा कार्तवीर्य र उनका सेनाको स्वागत सत्कारका लागि धेरै अन्न र अन्य समग्रीको आवश्यकता हुने भयो । आश्रममा कामधेनु गाई थिइन् जसबाट यस कार्यका लगि चाहिने सबै सामान प्राप्त भएको थियो । यो देखेर राजाले ऋषिसँग ती गाई आफूलाई दिन आग्रह गरे तर जमदग्नीले अस्वीकार गरे । यो सुनेर राजाले जमदग्नीलाई बन्धक बनाएर गाई लुटेर लगे । परशुराम तीर्थाटनबाट आश्रममा फर्किएपछि सबै कुराहरू थाहा पाएर राजा कार्तवीर्यार्जुनको राज्यमा गए । राजाले भगवान् दत्तात्रयबाट बरदानस्वरुप हजारवटा हातहरू पाएका थिए ।

परशुरामले राजासँग युद्ध गरे र राजा कार्तवीर्यका हजारवटा हातलाई काटेर दुइटा हातहरू मात्र छाडिदिए । ‘‘अब तँलाई मानव बनाएँ आजदेखि दानवता छोडेर मानवतामा परिणत हुनू’’ भनेर आफ्नो गाई लिएर परशुराम आश्रममा फर्किए । केही समयपछि परशुराम पुनः तीर्थयात्रामा गएको मौका पारी राजाले छोराहरू तथा अन्य क्षत्रीय राजाहरुको सहयोगमा ऋषि परशुपिता जमदग्निलाई मारेर कामधेनु गाई लिएर गए ।

माता रेणुकाको पुकार सुनेर परशुराम आश्रममा फर्किए ।माता रेणुका छाती पिटीपिटी रोइरहेकी थिइन् । यो देखेर परशुरामलाई साह्रै रिस उठ्यो । परशुरामले कार्तवीर्य अर्जुनलाई मार्ने र बाबुको शरीरमा जतिवटा घाउ छन् त्यति पटक (कतै जति पटक रेणुकाले छाती पिटेकी छन् त्यति पटक भन्ने पनि उल्लेख पाइन्छ) यस पृथ्वीलाई कार्तवीयजस्ता क्षेत्रीयको नाश गरी क्षत्रीयरहित पार्ने प्रतीज्ञा गरे । त्यसैले परशुरामले २१ पटक पृथ्वीभरका सबै क्षेत्रीयहरूको नाश गरे ।

परशुरामले पृथ्वीमा बढेका पापी र अभिमानी क्षत्रीयहरूलाई नष्ट गरेर नयाँ धर्मको स्थापना गरे । अन्तमा भृगु, जमदग्नि आदि पितृहरूको आकाशवाणी सुनेर उनले क्षत्रीहरूप्रतिको क्रोध त्यागेर तपस्यामा लीन भए ।

हैहयवंशका कृतवीर्यपुत्र अर्जुन हैहय राज्य माहिष्मतिका राजा थिए । उनले विष्णुका अंशावतार दत्तात्रेयको वरदानबाट एक सहस्र भुजाहरूसहित अनेक बर प्राप्त गरेका थिए । एक पटक नर्मदामा स्नान गर्दा मदोन्मत्त हैहयराजले आफ्ना हजार बाहुबाट नदीको वेग रोकिदिए । फलतः नदीको धारा उल्टो बग्न लाग्यो । सोही नदीको केही माथि रावणको शिबिर थियो । नदी रोकिएपछि रावणको शिविर पानीमा डुब्न लाग्यो । आफ्नो शिविर डुबाउने व्यक्तिको खोजी गर्दै जाँदा रावणसँग उनको भनाभन भयो । यसकारण रावण र कार्तवीर्याजुनको घोर युद्ध भयो । कार्तवीर्यले रावणलाई जितेर कैदी बनाए । रावणका हजुरबुबा पुलस्त्यले परशुरामसँग नाति रावणको मुक्तिको कामना गरे । पिताको हत्यारा पनि रहेका कार्तवीर्यलाई परशुरामले पराजित गरी रावणलाई मुक्त गरिदिए ।

परशुरामले शुक्राचार्य, बृहस्पति, ब्रह्माजी र शिवजीसँग प्राचीन कालको धनुर्विद्या सिकेका थिए भने द्रोणाचार्यलाई शस्त्र विद्या सिकाएका थिए । त्रेता युगमा रामचन्द्रले सीताको स्वयम्वरमा गुरुको आज्ञाले शिवकधनुषमा ताँदो चढाउने क्रममा धनु भाँचिएकोमा परशुराम क्रुद्ध भए किनकि परशुराम शिवका परम भक्त थिए । उनले रामलाई अफ्नो धनुमा पनि धागो चढाउन चुनौति दिए । जब रामले धनुषमा ताँदो चढाइ दिए तब परशुरामले रामचन्द्रलाई विष्णुको अवतार हुन् भन्ने थाह पाए । यसैले रामलाई आशीर्वाद दिई तपस्या गर्न अलप भए ।

सीतालाई लिएर अयोध्या फर्कने क्रममा फेरि रामसँग उनको युद्ध भयो । रामको पराक्रम देखेर परशुराम फेरि अयोध्या गए । दशरथले उनको स्वागतार्थ रामचन्द्रलाई पठाए । उनलाई देख्ने वित्तिकै परशुरामले उनको पराक्रमको परीक्षा लिन चाहे । अतः उनलाई क्षत्रिय संहारक दिव्य धनुषको ताँदो चढाउनको लागी भने । रामले धनुषमा ताँदो चढाएको देखेर उनलाई धनुषमा एक दिव्य बाण चढाएर देखाउन भने । रामले त्यो बाण धनुषमा चढाएर छाडिदिए । सो बाणले परशुरामको नै तेजोबध गरी पुनः रामको हातमा फर्केर आयो ।

रामले परशुरामलाई दिव्य दृष्टि दिए जसबाट उनले रामको यथार्थ स्वरूपको दर्शन गरे । परशुराम एक वर्षसम्म लज्जित, तेजहीन तथा अभिमानशून्य भएर तपस्यामा लागिरहे । तदनन्तर पितरहरूको प्रेरणा पाएर उनले वधूसर नामक तीर्थमा स्नान गरी रामद्वारा नष्ट भएको आफ्नो तेज पुनः प्राप्त गरे ।

परशुरामले जमभासुरको मस्तक विदीर्ण पारी संहार गरेका थिए । यसैगरी उनले शतदुन्दुभिको पनि बध गरे । उनी द्वापर युगमा सय वर्षसम्म सौम नामक विमानमा बसेर शाल्व राजासँग युद्ध गरे । सोही समयमा नग्निका नामक (कन्या) कुमारीहरूको मुखबाट शाल्वको वध प्रद्युम्न, साम्बसहित कृष्णको हातबाट हुनेछ भन्ने सुनेर उनी साल्वसँग युद्ध गर्न छाडी आफ्ना अस्त्रशस्त्र समुद्रमा लुकाएर तपस्या गर्न गए । परशुरामले आफ्नो जीवनकालमा अनेक महायज्ञ गरेका थिए र २१ पटक पृथ्वी विजय गरेका थिए । यज्ञका लागि उनले बत्तीस हात अग्लो सुनको वेदी बनाएका थिए । यज्ञपश्चात उनले महर्षि कश्यपलाई आफूले जितेको सम्पूर्ण पृथ्वीसहित त्यो स्वर्णवेदी दाद दिए भने द्रोणाचार्यलाई आफ्ना सम्पूर्ण अस्त्रशस्त्र मन्त्रसहित दान दिए । त्यसपछि उनी महेंद्र गिरिमा तपस्याामा लीन भएर रहे ।

यस्ता परशुराम एक पटक शिवलाई भेटन कैलाश गएको समयमा गणेशले उनलाई रोके । उनको र गणेशको युद्ध भयो जसमा गणेशको एक दाँत भाचिएको थियो । त्यसैले गणेशको नाम एकदन्त रहेको थियो । यही टुटेको दाँतको टुक्राको कलम बनाएर गणेशले महाभारत लेखेका थिए । उनले रामलाई सुदर्शन चक्र सुरक्षार्थ राख्नका लागि दिएका थिए र सोही चक्र परशुरामले द्वापर युगमा कृष्णलाई उनैले दिएका थिए । उनले भीष्म, द्रोणाचार्य र कर्णलाई धनुर्विद्या दिएका थिए । सत्ययुगदेखि द्वापरयुग सम्मका अनेक घटनामा परशुरामको प्रसङ्ग जोडिएको छ । उनी अमर भएकाले आज पनि उनी जीवितै छन् भन्ने मानिन्छ । भारत, नेपाल लगायतमा उनलाई भगवानकै रुपमा पूजा गरिने भएकाले उनका अनेकौं मन्दिरहरु पनि निर्माण भएका छन् । आजको यस पुण्य दिनमा उनको गाथा गान गरी प्राप्त आशीर्वादले हामी सबैको कल्याण होस् ।

स्रोत : ब्रह्मवैवर्त महापुराण २४–४६ अध्याय, अग्नि महापुराण ४ अध्याय, ब्रह्माण्ड महापुराण ३÷२१–४७ अ., रामायण र भागवत् ।
धन्यवाद
लेखक पुराण र हिन्दू सँस्कृतिका अध्येता हुन् ।

परशुरामको वंशवृक्ष:
पुलोमाबाट
महर्षि च्यवन
+ सुकन्या
अप्नावन च्यवन
+ रुचि
और्व+ऋचिका
ऋचिक+सत्यवती
जमदग्नि+रेनुका
परशुराम
वृहद्यनु, व्रुतकण्व, विदन्वन्त, सुषेण, विश्ववसु, वसु

शुनशेप

शुनक

प्रमति

भृगु

 

 


प्रतिक्रिया दिनुहोस्