सुदूरपश्चिमको माओवादी सरकार ढाल्दै माधव-खनाल पक्ष

प्रकाशित मिति : असार ५, २०७८ शनिबार


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल बिच भएको सहमतिको प्रत्यक्ष असार सुदूर पश्चिममा परेको छ । पार्टी एउटै रहने भएपछि  सुदूर पश्चिममा आफ्नो सरकार बनाउन एमालेले पहल गर्ने भएको छ ।

एमाले सुदूरपश्चिमका अध्यक्ष कर्ण थापाका अनुसार एमालेले प्रदेशमा आफ्नो सरकार बनाउन  तयारी सुरु गरेको छ । श्रोतका अनुसार मुख्यमन्त्री भने माधव(खनाल पक्षले पाउने निश्चित जस्तै छ ।

प्रदेश सभामा सभामुख बाहेक एमालेका २४ सांसद छन जस मध्ये ओली समूहका ६ जना मात्रै छन् । आफ्नो समूहका १८ जना सांसद भएकाले  नेपाल पक्ष उत्साहित बनेको हो ।

प्रदेश सभामा ५२ जना सदस्य रहेकोमा एमालेका मात्रै २५ जना सांसद छन् भने माओवादी केन्द्रका १३, नेपाली काँग्रेसका १२ र जनता समाजवादी पार्टी (जसपा)का २ जना सांसद छन् । जसपाका दुवै सांसद महन्त ठाकुर पक्षका हुन ।

यसरी जसपाको सहयोगमा सरकार बनाउन आवश्यक पर्ने २७ सांसद पुग्ने भएकोले सरकार ढल्ने  निश्चित जस्तै भएको हो ।


प्रतिक्रिया दिनुहोस्