कोरोना सङ्क्रमण वृद्धि सँगै जिल्लाहरूमा निषेधाज्ञा अवधि लम्ब्याइँदै

प्रकाशित मिति : असार ४, २०७८ शुक्रबार


बाजुरामा एक साताका निषेधाज्ञा थप 

बाजुरामा एक साताका लागि निषेधाज्ञा थप गरिएको छ । अब निषेधाज्ञा जेठ ७ गते राति १२ः०० बजेसम्मका लागि लगाइएको छ ।
जिल्ला संकट व्यवस्थापन समितिको आज बसेको बैठकले एक साता थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिनुभयो ।
थपियो मकवानपुरमा जेठ १३ सम्म निषेधाज्ञा
जिल्लामा आगामी जेठ १३ गनेसम्म निषेधाज्ञा गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी भरतमणि अधिकारीको अध्यक्षतामा आज बसेको बैठकले कोरोना सङ्क्रमणदर वृद्धि हुँदै गएपछि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।यस अघि जिल्लामा यही वैशाख १९ देखि ३१ गतेसम्म निषेधाज्ञा जारी भएको थियो । उहाँले कोरोना सङ्क्रमण दर तथा मृत्यु समेत वृद्धि भइरहेकाले सङ्क्रमण थप फैलिन नदिन र नागरिकलाई सुरक्षित राख्न निषेधाज्ञाको अवधि लम्ब्याएको जानकारी दिनुभयो ।

सल्यान र गोरखामा जेठ १५सम्म निषेधाज्ञा थप

जिल्लामा आगामी जेठ १५ गतेसम्म निषेधाज्ञा गरिने भएको छ । कोरोना संक्रमण दर वृद्धि हँदै गएपछि जिल्ला कोरोना व्यवस्थापन समितिको आज बसेको बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।
जिल्लामा कोरोना संक्रमणबाट दैनिकजसो मृत्यु भइरहेको र दिनप्रतिदिन संक्रमण दर बढेकाले निषेधाज्ञा थप गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी क्रमशः लक्ष्मीदेवी हुमागाईँ र शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

धनुषामा १० दिन निषेधाज्ञा थप
धनुषामा पुनः १० दिन निषेधाज्ञा थप गरिएको छ । वैशाख ३१ गते राति १२ बजेदेखि जेठ १० गते राति १२ बजेसम्मको लागि जिल्ला प्रशासन कार्यालय धनुषाले निषेधाज्ञा जारी गरेको हो ।
प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले एक सूचना जारी गर्दै जेठ १० गतेसम्मको लागि निषेधाज्ञा थप गरिएको जानकारी दिनुभयो । कोरोनाको दोश्रो लहरमा गएको वैशाख २१ गतेदेखि भोलिसम्मका लागि निषेधाज्ञा तोकिएको थियो ।

कञ्चनपुरमा निषेधाज्ञाको अवधि एक हप्ता थपियो
कञ्चनपुरमा नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमण पछिल्ला दिनमा उच्चदरमा फैलिदै जान थालेपछि निषेधाज्ञाको अवधि एक हप्ताका लागि थप गरिएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बुधबार बसेको बैठकले आगामी जेठ ७ गतेसम्मका लागि निषेधाज्ञाको अवधि थप गरेको हो ।

यसअघि वैशाख ३१ गतेसम्मका लागि निषेधाज्ञाको समयावधि तोकिएको थियो । प्रमुख जिल्ला अधिकारी रामकुमार महतोका अनुसार निषेधाज्ञालाई थप कडाइ गरिने भएको छ । सञ्चालन हुँदै आएको महेन्द्रनगरस्थित तरकारी बजार (सब्जीमण्डी) बुधबारदेखि बन्द गरिएको छ । तरकारी बजारमा निकै भिडभाड हुन थालेपछि कोरोनाको सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि बन्द गर्ने निर्णय गरिएको छ |


प्रतिक्रिया दिनुहोस्