उपत्यकामा आजदेखि जेठ १३ गते सम्म निषेधाज्ञा , अत्यावश्यक बाहेक सबै कार्यालय बन्द

प्रकाशित मिति : असार ९, २०७८ बुधबार


काठमाण्डौ उपत्यकाका तीन जिल्ला काठमाण्डौ, ललितपुर र भक्तपुरमा जारी निषेधाज्ञालाई आगामी जेठ १३ गते राती १२ बजेसम्मका लागि लम्ब्याईएको छ ।
उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका पदाधिकारीहरुको मंगलबार बसेको बैठकले थप १५ दिन निषेधाज्ञा थप्ने निर्णय गरेको हो । बिहान अत्यावश्यक सामान खरिदका लागि ९ बजे सम्मको समय तोकिएकोमा १ घण्टा बढाएर १० बजे सम्म पुर्याईएको छ । तर यो समयमा किनमेल गर्ने र सम्बन्धीत व्यवसायीले स्वास्थ्य सर्तकताका कामदण्ड अनिवार्य पालना गर्नुपर्ने छ ।

स्वास्थ्य मापदण्ड प्रयोग भए(नभएको अनुगमन गरिने छ । अब विवाह, ब्रतबन्ध, धार्मिक अनुष्ठानहरु पार्टी प्यालेसमा गर्न पाईने छैन । पार्टी प्यालेसमा गरिने सबै धार्मिक एवं सांस्कृतिक कार्यक्रमहरुमा रोक लगाईएको छ । घरमा नै अत्यन्तै न्यून सदस्य उपस्थित भएर स्वास्थ्य मापदण्ड पालना गरि गर्ने काममा भने रोक लगाईने छैन । यसअघि पहिलो चरणमा बैशाख १६ देखि २२ गते सम्म र दोश्रो चरणमा बैशाख २९ गते सम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो । संक्रमणको दर बढ्दै गएपछि निषेधाज्ञा लम्ब्याउने निर्णय भएको काठमाण्डौ जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

उहाँले स्वास्थ्य मापदण्ड पालना भए नभएको, मास्क प्रयोग र अनावश्यक हिडडुल गर्नेहरुमाथि कडा अनुगमन गरिने र मास्क नलगाउने प्रति जरिवाना गर्ने , अत्यावश्यक काम बाहेक हिडडुल गर्नेलाई होल्डीङमा राखिने बताउनुभयो ।

कालीप्रसाद पराजुली, प्रमुख जिल्ला अधिकारी, काठमाण्डौ खाद्यान्न, अत्यावश्यक वस्तु, औषधी लगायतले पास को आधारमा र पत्रकार तथा संञ्चारकर्मीलाई सूचना विभागको प्रेस पासको आधारमा आवातजावतमा सहजिकरण गरिने छ । मृत्यु संस्कार र विरामी लिएर जिल्ला बाहिर जानुपर्ने अवस्था लगायतका अत्यावश्यक कार्यका लागि जिल्ला प्रशासन कार्यालयले सहजिकरण गर्ने व्यवस्था मिलाईएको पनि उहाँले बताउनुभयो ।

निषेधाज्ञा जारी गर्न बाँकी छन यी चार जिल्ला

मुलुकका अधिकांश जिल्लाले निषेधाज्ञा लागू गरी कोभिड–१९ सङ्क्रमण नियन्त्रणको प्रयास जारी राखेका छन् । मुलुकमा अब जम्मा चार जिल्लाले मात्रै निषेधको आदेश जारी गर्न बाँकी छ । हालसम्म ७३ जिल्लाले निषेधाज्ञा जारी गरी सङ्क्रमणको साङ्लो चुँडाल्ने प्रयास गरिरहेका छन् । त्यसमध्ये सात जिल्लामा आंशिक आदेश लागू छ ।

यद्यपि सङ्क्रमणको गति भने कम हुनाको साटो बढ्दो छ । नेपालमा यही वैशाख ७ गतेदेखि आदेश जारी गरी नियन्त्रणको प्रयास भएको थियो । वैशाख १६ गतेदेखि भने आदेश जारी गर्ने क्रम तीव्र भएको थियो । एक महिनाका अवधिमा करीबकरीब मुलुक नै ठप्प हुन पुगेको छ ।

स्वास्थ्यविज्ञले यसपालिको परिवर्तित रुप गत वर्षभन्दा बढी सङ्क्रामक रहेकाले अझै केही हप्ता घरमै बसेर सङ्क्रमणको जालो तोड्नुपर्ने सुझाव दिनुभएको छ । विवरणानुसार मनाङ, मुस्ताङ, तेह्रथुम र खोटाङले निषेधाज्ञा जारी गरेका छैनन् । यद्यपि सङ्क्रमण फैलिन नदिन प्रयास भने जारी राखिएको सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

मनाङले भने वैशाख १३ गतेको निर्णयानुसार आवश्यक तयारीका साथ सम्पर्कमा रहेका व्यक्तिको परीक्षणलाई तीव्रता दिँदै आएकामा आजको निर्णयले अत्यावश्यक काम नपरी बाहिर ननिस्कन, जात्रा मेलालगायत भीडभाड हुने काम नगर्न र विवाहमा १५ भन्दा बढी सहभागी नहुन निर्देशन जारी गरेको छ ।

मुस्ताङले जिल्ला प्रशासन कार्यालयबाट दिने अत्यावश्यकबाहेक सेवा रोकिसकेको छ । खोटाङले आदेश जारी नगरे पनि भीडभाड हुने गतिविधिमा रोक लगाइसकेको छ ।
रुकुम (पूर्व) पनि आज रातिदेखि लागू हुने गरी आंशिक आदेश जारी गरिसकेको छ । उसले गाडीका हकमा जिल्लाभर नै सञ्चालनमा रोक लगाएको तथा अन्य विषयमा स्थान तोकेर आदेश जारी गरेको छ । कम सङ्क्रमित रहेको तेह्रथुमले भने अहिलेसम्म कुनै सूचना जारी गरेको छैन ।

गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहाल आवश्यकतानुसार निषेधको आदेश जारी गरी रोकथाममा लाग्न जिल्लालाई निर्देशन दिइसकेको र सोहीअनुसार आदेश जारी गरी कार्यान्वयन भइरहेको बताउनुहुन्छ ।
मुलुकमा पछिल्ला केही दिनदेखि नौ हजारमाथि दैनिक सङ्क्रमित फेला पर्दै आएका छन् तथा मृतक तीन अङ्क देखिँदै आएको छ । मुलुकमा अक्सिजन र सिलिण्डर तथा सघन उपचार कक्ष, भेन्टिलेटर र शय्यासमेत अभाव हुँदा बिरामीको मृत्यु हुन थालेको छ ।

नेपालमा पछिले साताको विष्लेषण गर्दा संक्रमितको सङ्ख्या ५१ प्रतिशतले वृद्धि भइरहेको छ । कोरोनाबाट नेपालमा ४४ भन्दा बढी जिल्ला प्रभावित भएको जनाइएको छ । भारतभन्दा नेपालमा संक्रमण र मृत्यु दर निकै बढी रहेको मन्त्रालयका सरुवा रोग विशेषज्ञ डा अर्चना श्रेष्ठले जानकारी दिनुभयो ।

नेपालमा प्रति १० लाख ३०४ र भारतमा २४० मात्रै सङ्क्रमण दर रहेको छ । नेपालमा प्रति १० लाखमा ३।३ जनाको मृत्यु भइरहेको छ । यो भारतको भन्दा बढी हो । भारतमा २।५ जनाको मृत्यु भएको तथ्याङ्क छ । पोजिटिभिटी दर भारतभन्दा नेपालमा दोब्बर छ । प्राप्त विवरणानुसार भारतमा २२।६ प्रतिशत पोजिटिभिटी दर रहेकामा नेपालमा ४५।१ प्रतिशत छ । नेपालमा आजदेखि सक्रिय सङ्क्रमितको संख्या एक लाख नाघिसकेको छ ।

 


प्रतिक्रिया दिनुहोस्