सधैं तयारी अवस्थामा

प्रकाशित मिति : जेष्ठ ३१, २०७८ सोमबार


कोरोना संक्रमितको मृत्यु भएपछि शव व्यवस्थापन गर्न भरतपुरस्थित नेपाली सेनाको कालीबहादुर गणमा खबर आउँछ। जसअनुसार गणबाट तत्काल टोली खटिन्छ। टोलीका सदस्यमध्ये एक हुन्, गिरिजङ गुरुङ। गुरुङ एक महिनादेखि संक्रमितको शव व्यवस्थापनमा खटिँदै आएका छन्।

पहिलो पटक संक्रमितको शव देखेर उनलाई डर लाग्यो। परिवार सम्झिएर भावुक बने। तर, आफ्नै परिवारमा भएको घटना सम्झिएर उनले साहस बटुले। ‘पहिलो पटक डर लाग्नु स्वाभाविक पनि हो’, उनले भने, ‘आफ्नो परिवार छ। घरमा भएको भए यस्तै त हो भनेर काम गर्छु। नेपाली सेनामा लागेर पाएको जिम्मेवारीले खुसी छु।’

उनी शव बोक्ने सवारी चलाउँछन्। उनले ४५ वटा शव व्यवस्थापन गरेका छन्। लमजुङ घर भएका २६ वर्षीय गुरुङ आफूलाई परेजस्तै ठानेर अघि बढ्छन्। गणमा ‘डेड बडी म्यानेजमेन्ट टिम’ छ। तालिम प्राप्तमध्ये एकपटकमा एक जना कमान्डर र चालकसहित पाँचदेखि सात जना खटिन्छन्। लमजुङका ३१ वर्षीय भक्तबहादुर गुरुङ सेनामा काम गरेको ११ वर्ष भयो। रेस्क्यू टिममा खटिन पाएकोमा गर्वको महसुस गरिरहेको उनको भनाइ छ। ‘परिवार सम्झन्छु तर यो विपत्मा सबै बिर्सिएर ड्युटीमा खटिएको छु’, उनले भने, ‘पहिला के होला कसो होला भन्ने लागेको थियो अहिले अभ्यस्त भएको छु।’

काठमाडौंका जमदार खोबिन्द्रबहादुर गुरुङले शव व्यवस्थापन गर्न जाने टोलीको कमान्ड गर्छन्। अस्पताल पुगेर शवको अवस्था बुझेपछि जमदार गुरुङको कमान्डको टोली व्यवस्थापनमा खटिन्छ। गुरुङले गत वर्षदेखि शव व्यवस्थापनको जिम्मेवारी सम्हालेका हुन्। नेपाली सेनाको १९ वर्षे सेवाका दौरान उनका लागि यो नौलो काम हो। दिनहुँजसो शव व्यवस्थापनमा खटिन्छन्।

‘हामी देशको खम्बा भएर बसेका छौं। खम्बा नै पछि हट्यो भने के काम लाग्यो र रु’, उनले भने, ‘सेवा गर्न पाउनु संस्था र व्यक्तिका लागि गर्वको कुरा हो।’
शव व्यवस्थापनका लागि पहिल्यै तालिम दिइन्छ। अभ्यस्त भएपछि मात्रै खटाउने गरिन्छ। कोभिड शव व्यवस्थापन कार्यविधि २०७७ अनुसार सेनाले शव व्यवस्थापन गर्दै आएको छ। उनीहरू पीपीईसहित स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर शव व्यवस्थापन गर्छन्। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।


प्रतिक्रिया दिनुहोस्