एकै गाउँमा १० दिनमा ११ को मृत्यु

प्रकाशित मिति : असार ४, २०७८ शुक्रबार


वीरगन्जः पर्साको जगरनाथपुर गाँउपालिकाको एउटै गाउँमा १० दिनको अवधिमा ११ जनाको मृत्यु भएपछि गाउँलेहरु त्रसित बनेका छन् । मङगलवार ११ जनाको एन्टसजोन विधिबाट कोभिड १९ परीक्षण गर्दा तीमध्ये ७ जनामा संक्रमण भेटिएको छ ।

मृतक ११ मध्ये ६ जनाको कोरोना संक्रमणका कारणले मृत्यु भएको गाँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमेन्द्र साहले बताए । अरु ५ जनाको पनि उच्च ज्वरो, श्वासप्रश्वास सम्बन्धी समस्याले मृत्यु भएका कारणले गाँउभर नै कोरोना संक्रमण फैलिसकेको आशंका गरिएको छ ।

साहका अनुसार मृत्यु भएका ११ मध्ये ७ जना एउटै टोलका अर्थात् वडा नम्बर ५ चिलझप्टी टोलका हुन् । १० दिनमै ६ संक्रमित सहित ११ जनाको मृत्यु भएको र गाउँमा सयौँको संख्यामा ज्वरो र श्वासप्रश्वासको बिरामी भएपछि गाँउपालिकाले स्वास्थ्य कार्यालय पर्सा र नारायणी अस्पताललाई सोमबार पत्र लेखेर विज्ञ सहितको स्वास्थ्यकर्मी टोली पठाइदिन आग्रह गरेको थियो ।

सोही अनुरुप मङगलवार स्वास्थ्य कार्यालयबाट गएको १२ जना स्वास्थ्यकर्मीको टोलीले जगरनाथपुर ५ चिलझप्टीमा ज्वरोले सिकिस्त ११ जनाको एन्टिजोन विधिबाट परीक्षण गर्दा ७ जनामा कोरोना संक्रमण भेटिएको हो ।

त्यही टोलमा मङगलवार शंकास्पद २५ जना बिरामीको स्वाब संकलन गरी, पीसीआर परीक्षणका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा पठाइएको साहले जानकारी दिए ।

साहका अनुसार चिलझप्टी गाउँमा मङगलवार पुगेको स्वास्थ्यकर्मीको टोलीले घरघरमा पुगेर शंकास्पद बिरामीको ज्वरो नापेको थियो । तीमध्ये कोरोनाको शंका लागेका ११ जनाको स्वाब संकलन गरी गाउँमै एन्टिजोन विधिबाट परीक्षण गर्दा ७ जनामा कोरोना संक्रमण भेटिएको हो ।यो समाचार अन्नपूर्ण पोस्टमा छ ।


प्रतिक्रिया दिनुहोस्