निषेधाज्ञामा पनि बन्दैछन बाग्लुङका सडक

प्रकाशित मिति : असार ३, २०७८ बिहीबार


बागलुङ   कोरोना सङ्क्रमणले बजार क्षेत्र ठप्प छन् । शैक्षिक संस्था, वित्तीय संस्था र निजी क्षेत्र पूर्णरुपमा बन्द भएको बेला विकास निर्माण भने नियमित भइरहेका छन् । सरकारले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर काम गर्ने अनुमति दिएपछि विकास योजना नियमित चलेका हुन् ।
विशेषगरी ठूला आयोजनामा नियमित काम भएको सडक डिभिजन कार्यालय बागलुङले जनाएको हो । “कामलाई रोकिएको छैन, निर्माण सामग्री ढुवानीमा पनि सहज वातावरण छ, त्यसैले समयमा सक्नेगरी काम भइरहेका छन्”, डिभिजन कार्यालयका प्रशासन प्रमुख नारायण शर्माले भन्नुभयोे, “कोरोना सङ्क्रमणको जोखिमसँग भने ख्याल गर्न लगाएका छौँ ।”

मालढुङ्गाादेखि कुश्मीसेरा जाने सडक, बुर्तिवाङदेखि ढोरपाटन जाने वैकल्पिक सडकलगायत ठूला आयोजनामा नियमित काम भएको उहाँले बताउनुभयो । गत वर्ष पहिराले बगाएपछि बोबाङ हुँदै जाने ढोरपाटन सालझण्डी सडक आयोजनाको काम पूरा हुन नसक्ने देखिएको छ । वर्षात्मा सडक अवरुद्ध हुन सक्ने आँकलन भइरहेको बेला गादीखोला छेन्टुङ ढोरपाटन सडकमा काम भएको हो । जिल्ला समन्वय समितिमार्फत गरिएको अनुगमनमा पनि नियमित काम भएको देखिएको उपप्रमुख विष्णु भुसालले बताउनुभयो ।

“पहिला पनि काम भएको रहेछ, अहिले पनि नियमित काम भइरहेको छ”, भुसालले भन्नुभयो, “काम पनि राम्रो गरेको भेटियो ।” ढोरपाटन नगरपालिका–५ को गादीखोलादेखि वडा नं ६ को तोगाडि छेन्टुङ हुँदै वडा नं ९ को ढोरपाटन आरक्ष पुग्ने २० किमी सडक निर्माण भइरहेको हो । अहिलेसम्म यो सडकको झण्डै १७ किमी ट्र्याक खुलिसकेको छ । त्योमध्ये १० किमी सडक चालु वर्षदेखि नै ग्राभेल गर्ने र आगामी वर्ष कालोपत्र गर्ने योजना रहेको पूर्वाधार विकास कार्यालयका सब–इन्जिनीयर प्रकाश श्रीषले बताउनुभयो । तल्लोखण्ड कालोपत्रका लागि ठेक्कासमेत गइसकेको हो ।

श्रेष्ठ ग्लाल्बो क्याराभान संयुक्त निर्माण कम्पनीले एक वर्षअघि नै सम्झौता गरेर आधा काम सकिसकेको छ । रु २५ करोड २६ लाख ८० हजारमा सम्झौता गरेको ठेकेदार कम्पनीले असारसम्म ग्राभेल गरिसक्ने लक्ष्य राखेको छ । सम्झौता अवधिभित्रै कालोपत्र गरिसक्ने योजना कम्पनीका इन्जिनीयर श्याम भण्डारीले जानकारी दिनुभयो । कोरोना सङ्कटको समयमा पनि भएका मजदूरलाई नियमित खटाएर काम गरिएको उहाँले जानकारी दिनुभयो ।
माथिल्लो १० किमीमध्ये सात किमी खण्डमा पनि ठेक्का भएर काम शुरु भएको छ । यो सडकले ढोरपाटन आरक्षको छेन्टुङ हुँदै म्याग्दीको गुर्जासम्म जोड्नेछ । यो सडकमा स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम र पूर्वाधार विकास कार्यक्रमको संयुक्त बजेटबाट चालु वर्ष पाँच करोड बजेट विनियोजन भएको छ । एक निर्वाचन क्षेत्र, एक सडक कार्यक्रममा सूचीकृत भएर माथिल्लो खण्डमा काम भएको हो । स्थानीयवासीले पनि सडक निर्माणमा सहजीकरण गरिरहेका छन् । यहाँको खर्सुबोट स्टिल ट्रस्ट पुल निर्माण पनि भइरहेको हो ।

पालिका तहका सडक र अन्य विकासे आयोजना पनि नियमित रुपमा निर्माण भएका छन् । जैमिनी नगरपालिका–२ मा निर्माण भएका आयोजना अनुगमनसमेत भइसकेको इन्जिनीयर विवेक सापकोटाले बताउनुभयो । “कोरोना कहरबीच पनि काम भएका छन्, केही सकिएका छन्, केही निर्माणाधीन छन्”, सापकोटाले भन्नुभयो, “सामाजिक दूरी कायम गरेर काममा मजदूर खटाइएको छ ।” सडक निर्माणसँगै व्यक्तिगत रुपमा निर्माणाधीन घरका लागि पनि प्रशासनले नियमित काम गर्न दिएको छ ।


प्रतिक्रिया दिनुहोस्