३ दलबाट सरकार गठन प्रक्रिया अघि बढाउन माग

प्रकाशित मिति : असार ४, २०७८ शुक्रबार


नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री नियुक्त गर्ने प्रक्रिया प्रारम्भ गर्न आग्रह गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि तीन दलका नेताले संविधान अनुसार प्रधानमन्त्री नियुक्त गर्ने अर्को प्रक्रियामा आग्रह गरेका हुन् ।

प्रतिनिधिसभाबाट विश्वासको मत फेल भए लगत्तै बसेको तीन दलले संयुक्त विज्ञप्ती जारी गरी बहुमतको सरकार गठन प्रक्रिया अघि बढाउन आग्रह राष्ट्रपतिलाई आव्हान गरेको छ । प्रधानमन्त्री पद मुक्त भएको अवस्थामा बहुमतको सरकार निर्माणको अर्को प्रक्रिया थाल्नका लागि तीन दलका अध्यक्षहरुले संयुक्त विज्ञप्ती जारी गरेको नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिनुभयो ।

विज्ञप्तीमा भनिएको छ “प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधाको धारा १०० को उपधारा १ बमोजिम विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष राख्नुभएको प्रस्ताव संविधानको धारा १०० को उपधारा ३ बमोजिम प्रतिनिधिसभामा तत्काल कायम रहेको सम्पुर्ण सदस्य संख्याको बहुमतबाट पारित हुन नसकेकोले सम्माननीय केपी शर्मा ओली नेपालको संविधान बमोजिम प्रधानमन्त्री पदबाट मुक्त हुनु भएकाले नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री नियुक्त गर्ने प्रक्रिया प्रारम्भ गर्न राष्ट्रपति ज्युलाई आव्हान गर्दछौ । ”

विज्ञप्तीमा कांग्रेस सभापति शेर बहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जसपाका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गर्नुभएको छ ।


प्रतिक्रिया दिनुहोस्