शङ्कर पोखरेलविरुद्ध फेरि अविश्वास प्रस्ताव दर्ता

प्रकाशित मिति : जेष्ठ ३१, २०७८ सोमबार


काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

माओवादी केन्द्र, कांग्रेसलगायत दलका ४० सांसदको हस्ताक्षरसहित आज प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएको हो ।

जसमा नेपाली कांग्रेसका १९, माओवादीका १८, जसपाका २ र राजमोका एक प्रदेशसभा सदस्यले हस्ताक्षर गरेका छन् । जसमा नयाँ मुख्यमन्त्रीका रुपमा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको छ ।

संविधानको धारा १८८ को उपधारा ४ र लुम्बिनी प्रदेशको प्रदेशसभा नियमावली २०७४ को नियम १४४ को उपनियम १ बमोजिम प्रस्ताव दर्ता गरिएको हो ।

यसअघि वैशाख ६ मा पनि गठबन्धनका ४१ जना प्रदेशसभा सदस्यले हस्ताक्षर गरी प्रदेशसभामा अविश्वासको प्रस्तावसहित विशेष अधिवेशनका लागि समावेदन गरेका थिए । त्यसअनुसार प्रदेश प्रमुख धर्मनाथ यादवले वैशाख १९ मा विशेष अधिवेशन बोलाएका थिए ।

विशेष अधिवेशनको कार्यसूची आइसकेपछि त्यसैदिन मुख्यमन्त्री शंकर पोखरेलले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि विशेष अधिवेशन अन्त्य भएको थियो ।


प्रतिक्रिया दिनुहोस्