स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाकाे विकासमा प्रधानन्यायाधीश जबराकाे प्रतिबद्धता

प्रकाशित मिति : असार १०, २०७८ बिहीबार


काठमाडौं । आज कानून दिवस २०७८ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नेपालको संविधानले प्रत्याभूत गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाका लागि प्रतिबद्धता जनाएका छन् ।

कानून दिवसकाे अवसर पारी शुभकामना सन्देश दिँदै जबराले यस्ताे प्रतिबद्धता जनाएका हुन् । न्याय, समानता एवम् विधिको शासनप्रति सम्मान र प्रतिबद्धता व्यक्त गर्ने विशेष दिन समेत आज भएकाे भन्दै प्रधानन्यायाधीश जबराले आजको विशेष दिनले न्याय, समानता र विधिको शासनको प्रत्याभूतिको लागि क्रियाशील रहन सबैमा थप हौसला र प्रेरणा प्रदान गर्ने विश्वाससमेत उनले व्यक्त गरेका छन् ।

उनले भनेका छन्, ‘न्यायपालिकाको नेतृत्वको हैसियतबाट नेपालको संविधानले प्रत्याभूत गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा विधिको शासनको सुनिश्चितता गर्दै सहज पहुँचयुक्त न्याय प्रणालीको स्थापना र विकासमा आफ्नो स्पष्ट प्रतिबद्धतासमेत व्यक्त गर्दछु ।’

कानुन दिवस कानून र न्याय क्षेत्रका लागि मात्र नभई सबै क्षेत्र र नागरिकको तहसम्म पनि त्यत्तिकै महत्वपूर्ण भएको भन्दै यसलाई राष्ट्रिय पर्वकै रुपमा मनाउन प्रधानन्यायधीश जबराले विशेष आग्रह समेत गरेका छन् ।

विक्रम सम्वत् २००९ साल वैशाख २६ गते प्रधान न्यायालय ऐन लागू भएको दिनको सम्झनामा ‘कानुन दिवस’ मनाइन्छ ।


प्रतिक्रिया दिनुहोस्