एकैदिन ७६६० कोरोना संक्रमित थपिए, ५५ जनाको मृत्यु

प्रकाशित मिति : बैशाख २२, २०७८ बुधबार


काठमाडौं । नेपालमा कोभिड–१९ को सङ्क्रमित हुनेको सङ्ख्यामा दैनिक उकालो लागिरहेको छ।

कोभिड–१९ को दोस्रो लहर बढेसँगै वैशाखको शुरु देखि सङ्क्रमित हुनेको सङ्ख्या दैनिक उकालो लागेको हो। प्रत्येक दिन सङ्क्रमित हुनेको सङ्ख्या बढिरहेको छ।

पछिल्लो २४ घण्टामा ५५ जना कोरोना संक्रमितको निधन भएको छ।

थप ७६६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यसअघि सोमबार (वैशाख २० गते) सात हजार ४४८, आइतबार (वैशाख १९ गते) सात हजार २११, शनिबार (वैशाख १८ गते) पाँच हजार ७६३ र शुक्रबार (वैशाख १७ गते) पाँच हजार ७२७ सङ्क्रमित देखिएका थिए।

१६,१३१ पीसीआर र ५७१ एन्टिजन परीक्षण गर्दा सो संख्यामा नयाँ संक्रमित पहिचान भएको मन्त्रालयले जनाएको छ।

पछिल्लो वृद्धिसँग नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ५९,७९८ पुगेको छ।

पछिल्लो २४ घण्टामा १,७७५ जना कोरोना संक्रमित भने निको भएको मन्त्रालयले जनाएको छ।

अहिलेसम्म दुई लाख ८७ हजार ७९० निको भएर घर फर्किएका छन्। नेपालमा निको हुने दर ८२ प्रतिशत छ।

५५ को निधन

यस्तै आज मात्र सङ्क्रमणबाट निधन हुनेको सङ्ख्या ५५ पुगेको छ। निधन हुनको यो सङ्ख्या हालसम्मकै उच्च हो।

अहिलेसम्म तीन हजार ४१७ सङ्क्रमणबाट निधन भइसकेका छन्।

२० जिल्लामा ५०० बढी सङ्क्रमित

यसैगरी ५०० भन्दा बढी सङ्क्रमित हुने जिल्ला २० पुगेका छन्। मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, धनुषा, पर्सा, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, काभ्रे, मकवानपुर, कास्की, दाङ्, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत र कैलाली रहेका छन्।

आइसियुमा ६१६ र भेन्टिलेटरमा १७९

यस्तै सङ्क्रमितमध्ये ६१६ सघन उपचार कक्ष (आइसियु) र १७९ भेन्टिलेटरमा उपचार गराइरहेका छन्।

आइसियुमा प्रदेश नंं १ मा ९३, प्रदेश नंं २ मा २४, वाग्मती प्रदेशमा ३२५, गण्डकी प्रदेशमा ४४, लुम्बिनी प्रदेशमा ६९, कर्णाली प्रदेशमा ३२ र सूदुरपश्चिम प्रदेशमा २९ उपचार गराइरहेका छन्।

भेन्टिलेटरमा प्रदेश नंं १ मा १८, प्रदेश नंं २ मा दुई, वाग्मती प्रदेशमा १२४, गण्डकी प्रदेशमा दुई, लुम्बिनी प्रदेशमा १६ , कर्णाली प्रदेशमा सात र सूदुरपश्चिम प्रदेशमा १० उपचार गराइरहेका छन्।

 

 


प्रतिक्रिया दिनुहोस्