काठमाडौं उपत्यकाको निषेधाज्ञा थपियो, साँझ पसल खोल्न नपाइने

प्रकाशित मिति : बैशाख २२, २०७८ बुधबार


काठमाडौं । काठमाण्डौ उपत्यकाका तीन जिल्ला काठमाण्डौ, ललितपुर र भक्तपुरमा आगामी २९ गते सम्म निषेधाज्ञा हुने भएको छ।

उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका पदाधिकारीहरुको मंगलबार बसेको बैठकले थप एक साता निषेधाज्ञा थप्ने निर्णय गरेको हो।

यसअघि बैशाख १६ गते देखि २२ गते सम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो। यसको साथै आजको बैठकले उपत्यकामा बिहान १० बजेबाट पसल खोल्ने समय घटाएर बिहान ९ बजे बन्द गराउने निर्णय गरेको छ। साँझ पसल खोल्न नपाईने भएको छ।

संक्रमणको दर बढ्दै गएको तथा आन्तरिक हवाई उडान मंगलबार राती देखि र बाह् उडान पनि विहिबार रातीदेखि बन्द भएको अवस्थामा उपत्यका भित्रका तीन जिल्लामा पनि २९ गते सम्मका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय भएको काठमाण्डौ जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए।

अत्यावश्यक सेवाका लागि आवश्यक समन्वयन गरि सहयोग गर्न तयार सुरक्षा निकायको साथै स्थानीय प्रशासन जुनसुकै अवस्थामा पनि तयार रहेको उनले बताए।

उनले अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कन र स्वास्थ्य सर्तकता मापदण्डको पुर्ण पालना गर्न सबैमा अपिल गरे।

विवाहका लागि सवारी पास आवश्यक नपर्ने र दुरी कायम गरि गर्ने गरी साविककै व्यवस्थालाई निरन्तरता दिईएको तथा खाद्यान्न, अत्यावश्यक वस्तु, औषधी लगायतलाई पासको व्यवस्था गरि सञ्चालन हुने व्यवस्था मिलाउने निर्णय बैठकले गरेको छ।

पत्रकार तथा संञ्चारकर्मीलाई सूचना विभागको प्रेस पासको आधारमा आवातजावतमा सहजिकरण गर्ने, सम्बन्धित संचारगृहरुले न्यूनतम कर्मचारीहरु मात्र खटाउने र सो को विवरण जिल्ला प्रशासन कार्यालयमा उपलब्ध गराउन भनिएको छ।

मृत्यु संस्कार र विरामी लिएर जिल्ला बाहिर जानुपर्ने अवस्था लगायतका अत्यावश्यक कार्यका लागि जिल्ला प्रशासन कार्यालयले सहजिकरण गर्ने व्यवस्था मिलाईएको पनि उनले बताए।

 


प्रतिक्रिया दिनुहोस्