सङ्क्रमितको शवबाट कोरोनाभाइरस सर्छ कि सर्दैन ?

प्रकाशित मिति : बैशाख २२, २०७८ बुधबार


काठमाडौं । कोभिड- १९ को बिरामीको अन्तिम समय आएका बेला एउटा कठोर दृश्य देखिने गरेको छ। त्यस बेला उनीहरूको मृत्युमा शोक व्यक्त गर्ने आफन्तहरू साथमा हुँदैनन्।

ती दृश्यहरूले केवल मृत्युको मात्र होइन मृतकसँग पनि त्रास पैदा गरिरहेका छन्।

त्यसले पोस्टमोर्टमबाट रोग फैलन सक्ने आशङ्का र सङ्क्रमितको शरीरबाट भाइरस सर्न सक्ने सम्भावनाको डर पैदा गरिदिएको छ।

के मृतकको शरीरले कोभिड- १९ फैलाउन सक्छ? अन्तिम संस्कार गर्नु सुरक्षित छ कि छैन? अनि शवलाई जलाउनु उचित कि गाड्नु?

के शवबाट कोभिड-१९ सर्छ?

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का अनुसार यदि आवश्यक सावधानी अपनाइएको छ भने मृतकको शरीरबाट कोभिड-१९ सर्छ भनेर डराउनुपर्ने कुनै कारण छैन।

यो रोग लगाउने सार्स-कोभ-२ भाइरस विशेषगरी मानिसहरूले निकाल्ने थुक वा र्‍याल जस्ता कुराका छिटाहरूबाट सर्छ। बोल्दा, हाच्छिउँ गर्दा वा खोक्दा यस्ता छिटाहरू निस्कन्छन्।

अनि कतिपय कडा सतहहरूमा यी भाइरस केही दिनसम्म जीवित रहन सक्छन्।

“आजका दिनसम्म मृतकको शरीरबाट जीवित मान्छेमा यो भाइरस सरेको कुनै पनि प्रमाण भेटिएको छैन,” एप्रिल २०२० मा एउटा पत्रकार सम्मेलनमा पान-अमेरिकन हेल्थ अर्गनाइजेशनका एक प्रवक्ता विलियम अडुक्रोले भनेका थिए।

मृतकको शरीरमा भाइरस बाँच्न सक्छ?

“त्यसो भन्दैमा हामीले यो सर्दैन भन्न खोजेका होइनौँ। तपाईँ मृतकलाई एकदमै प्रेम गर्नुहुन्छ त्यसैले चुम्बन गर्न वा अन्य त्यस्तै गर्न चाहनुहुन्छ। हामीले अझै पनि रोकथाम र नियन्त्रणको अभ्यास गर्नुपर्छ,” उनले भने।

डब्ल्यूएचओले २०२० मार्चमा जारी गरेको एउटा निर्देशिकामा रक्तस्राव हुनेखालका ज्वरोहरू (इबोलाजस्ता) र हैजालाई छाडेर आम रूपमा मृतकको शरीरबाट सङ्क्रमण नहुने उल्लेख छ।

त्यसमा भनिएको छ, “यदि महामारीयुक्त इन्फ्लूएन्जा भएर मृत्यु भएकाहरूको फोक्सोलाई चिरफारका बेला सही तरिकाले सम्हालिएन भने रोग सर्न सक्छ। अन्यथा शवबाट रोग सर्दैन।”

तर कडा खाले श्वासप्रश्वाससम्बन्धी रोगबाट मृत्यु भएकाहरूको फोक्सो र अन्य अङ्गहरूले भाइरसका लागि आश्रयस्थलको काम गरेका हुन सक्छन्।

चिरफारका बेला ती भाइरसहरू बाहिर आउन सक्छन्। त्यसमा प्रयोग भएका उपकरणहरूमा पनि ती बस्न सक्छन्।

कोभिड-१९ लागेर ज्यान गएकाहरूका मृतकका आफन्त र साथीहरुले के विचार गर्नु जरुरी छ भने शव गाड्ने वा जलाउने कार्य सुरक्षित रूपमा व्यावसायिक मानिसहरूबाट गरिएको हुनुपर्छ।

के हामी अन्तिम संस्कारमा जान सक्छौँ?

केही स्थानमा कोभिड-१९ का कारण लगातार मृतकको सङ्ख्या बढ्दा अन्तिम संस्कारमा सङ्कट पैदा भएको छ।

सामाजिक दूरी कामय गर्नुपर्ने भएकाले कैयौँ देशहरूमा अन्तिम संस्कार बन्द गरिएको छ।

अन्यत्र अनुमति त दिइएका छन् तर सीमित सङ्ख्यामा मात्र मानिसहरू सहभागी हुन पाउँछन्।

डब्ल्यूएचओले मृतकका आफन्त तथा साथीहरूले अन्तिम संस्कार हेर्न पाउने बताएको छ। यद्यपि उनीहरूले पनि केही प्रतिबन्धहरूको पालना गर्नुपर्ने हुन्छ।

डब्ल्यूएचओको निर्देशिकामा भनिएको छ, “उनीहरूले शवलाई म्वाईँ खान र छुन पाउने छैनन्। शव हेरिसकेपछि उनीहरूले साबुन पानीले हात धुनुपर्नेछ। शव हेर्नका लागि कम्तीमा एक मिटरको दूरी कायम राख्नुपर्नेछ।”

श्वासप्रश्वाससम्बन्धी लक्षणहरू भएका मानिसहरूले अन्तिम संस्कारमा सहभागी हुन पाउँदैनन् वा गर्नै पर्ने अवस्थामा पनि सङ्क्रमण फैलिन नदिनका लागि मास्क लगाउनुपर्छ।

बालबालिका, ६० वर्ष माथिका र कमजोर प्रतिरक्षा प्रणाली भएका मानिसहरूले सिधै शवसँग सम्पर्कमा आउनु हुँदैन।

शवलाई गाड्न सकिन्छ कि जलाउनुपर्छ?

डब्ल्यूएचओका अनुसार शवलाई गाड्न पनि सकिन्छ, जलाउन पनि सकिन्छ।

“सरुवा रोग लागेका मानिसको शवलाई जलाउनुपर्छ भन्ने मान्यता रहेको देखिन्छ तर त्यो सत्य होइन। अन्तिम संस्कार भनेको सांस्कृतिक छनोट र उपलब्ध स्रोतको कुरा हो,” उक्त निर्देशिकामा भनिएको छ।

अन्तिम संस्कारका क्रममा शवहरूको व्यवस्थापन गर्दा पन्जा लगाउनु र तुरुन्तै साबुन पानीले हात धुनुपर्छ।

कोभिड-१९ का बिरामीका शवलाई तत्कालै अन्तिम संस्कार गर्नुपर्छ भन्ने नभएको डब्ल्यूएचओको भनाइ छ।

बिरामीका सामानलाई जलाउनु पनि आवश्यक छैन। तर त्यस्ता सामग्रीहरूलाई सर्फले धुने वा ७० प्रतिशतभन्दा बढी इथनल भएका कुराहरूले सङ्क्रमणमुक्त बनाउनुपर्छ।

कपडाहरूलाई कि त ६० देखि ९० डिग्री सेल्सीअस तापक्रममा मशीन धुनुपर्छ वा तातोपानी र साबुनले कुनै भाँडामा राखेर लट्ठीले धुनु आवश्यक हुन्छ।

प्रतिष्ठा कायम राख्नु

डब्ल्यूएचओले मृतक, उनीहरूको संस्कृति र धार्मिक परम्पराका साथै परिवारको पनि प्रतिष्ठा कायम राखिनुपर्ने बताएको छ।

तर महामारी फैलिँदै गर्दा विश्वका कतिपय स्थानमा यो निकै चुनौतीपूर्ण भएको छ।

गत वर्ष इक्वेडरमा त्यस्तै समस्या आएको देखिएको थियो। पर्याप्त एअर कन्डिशनर र पूर्वाधार नहुँदा अस्पतालहरूले गोदामघरहरूमा लाश पठाएका थिए। अमेरिकाको न्यूयोर्क, ब्रजिल र टर्कीमा सामूहिक चिहान बनाइएका तस्बिरहरू पनि आएका थिए।

डब्ल्यूएचओले हरेक घटनाका आधारमा परिस्थितिको मूल्याङ्कन गरी यस्तो प्रतिष्ठा कामय राख्न आग्रह गरेको छ।

-बीबीसी


प्रतिक्रिया दिनुहोस्