कोरोना महामारीमा भुटानको अबस्था देखेर विश्वका धेरै देश चकित

प्रकाशित मिति : असार १०, २०७८ बिहीबार


काठमाडौं । विश्वभर कोरोनाको महामारीका कारण जनजीवन उथलपुथलपूर्ण भइरहेको अबस्थामा दक्षिण एशियाली मुलुक भुटान भने ढुक्कसँग बसेको छ ।

छिमेकी मुलुक भारत कोरोना महामारीले भयावह अबस्थामा पुग्दा भुटानले आफ्ना देशका ९३ प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको खोप दिइसकेको छ ।

भुटानको यो अबस्था देखेर अहिले विश्वका धेरै देश चकित छन् । भारतले दिएको कोरोना भ्याक्सिनबाट उसले यो सफलताको कथा लेखेको हो । हालसम्म भुटानमा एक हजार ६६ जना कोरोना संक्रमित भएका मध्ये ९ सय ६१ जना उपचारपछि घर फर्किएका छन् । कोरोनाबाट हालसम्म १ जनाको मात्रै मृत्यु भएको छ ।

हिमनदी र अग्ला पहाडले घेरिएको यो देशको कतिपय ठाउँमा जानका लागि सडकसम्म छैन । भुटान सरका त्यहाँको प्रत्येक नागरिकप्रति उत्तरदायी छ । कोरोना संक्रमित भइहाले स्वास्थ्यमा उच्च सतर्कता र सावधानी अपनाइएको छ ।

अहिलेसम्म भुटानमा ९३ प्रतिशत वयष्क जनसंख्यालाई भ्याक्सिनेट गर्ने काम सम्पन्न भइसकेको छ। भारतको सिरम इन्स्टिच्युटमा बनेको अक्सफोर्ड–एस्ट्राजेनेका भ्याक्सिन गत महिना हेलिकोप्टरमार्फत भुटान पुगेको थियो। मार्च अन्तिमबाट सुरु भएको भ्याक्सिनेसन शनिबारसम्म चार लाख ७८ हजारले पहिलो डोज लगाएका छन्।

मार्चको अन्तिमदेखि अप्रिलको सुरुवातमा भुटानमा १२ सय खोप केन्द्रमार्फत खोप दिइएको थियो। न्यूयोर्क टाइम्सको एक रिपोर्टका अनुसार शनिबारसम्म भुटानमा प्रति १०० मानिसमध्ये ६३ जनाले भ्याक्सिन लगाएका छन्।

कोरोना खोप अभियानमा भुटान छैटौं नम्बरमा छ। भुटान यो दरमा भारतभन्दा सात गुणा अघि छ। भुटानका स्वास्थ्य मन्त्री डैशो डेचेन वांगमोले यो सफलताको श्रेय देशका राजा र जनतालाई दिएका छन्। उनले मानिसहरुले भ्याक्सिन लगाउन कुनै हिचकिचाहट नदेखाएको बताएका छन्।

राजाको निर्देशनमा खोप अभियान प्रभावकारी ढंगले संचालन भएको उनले जनाए। सात लाख ५० हजार जनसंख्या भएको सानो देश भएका कारण भुटानले यो आँकडा छोएको हो। भुटान सरकारले पहिलो डोज लिएकाहरुलाई ८ देखि १२ साताको बीचमा दोस्रो डोज दिने तयारी भइरहेको बताएको छ।
न्यूयोर्क टाइम्स


प्रतिक्रिया दिनुहोस्