माइला लामा छुटे

प्रकाशित मिति : असार ७, २०७८ सोमबार


काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका तत्कालिन काठमाडौं उपत्यका इन्चार्ज तथा जनकलाकार माइला लामा ‘प्रज्वल’ कारागार मुक्त भएका छन्।

दुई बर्ष भन्दा लामो जेल तथा हिरासत बसाइपछि लामा आज रिहा भएका हुन।

सरकार र विप्लव नेकपाबीच भएको ३ बुँदे सहमतिको २ महिना पछि रिहा भएका हुन।

सरकारले नेकपासँग गरेको सहमति कार्यान्वयनमा इमान्दारिता नदेखाएपछि उनी आफ्नै पहलमा धरौटी तिरेर जेलमुक्त भएका हुन्।

सरकारले गत फागुन २१ गते नेकपाका नेताहरूलाई जेल र हिरासतबाट मुक्त गरी झूट्टा मुद्दा खारेज गर्ने सहमति गरेको थियो।

तर, सरकारले सहमति कार्यान्वयन गर्न ढिलाइ गरेपछि नेकपा नेता लामा २५ हजार धरौटी बुझाएर सङ्खुवासभा कारागारबाट मुक्त भएका हुन्। नेकपाका केन्द्रीय सदस्य लामालाई सरकारले विभिन्न मुद्दा लगाउँदै र हिरासत र जेल घुमाउँदै सङ्खुवासभा पुर्‍याइएको थियो।

२०७६ साउनमा भक्तपुरमा एक घरमा सुतिरहेको अवस्थामा लामालाई प्रहरीले मध्यराति नियन्त्रणमा लिएको थियो। लामालाई तत्काल रिहा गर्न माग गर्दै चौतर्फी दवाबहरु हुँदै आएका थिए।


प्रतिक्रिया दिनुहोस्