कोरोनाबाट मोरङमा थप तीन जनाको मृत्यु

प्रकाशित मिति : असार ९, २०७८ बुधबार


विराटनगर । कोरोना भाइरस संक्रमणबाट मोरङमा थप तीन जनाको मृत्यु भएको छ । मोरङमा कोरोना भाइरस संक्रमित एक पुरुष र एक जना वृद्धाको उपचारका क्रममा मृत्यु भएको हो ।

झापाको अर्जुनधारा–६ का ३५ वर्षीय पुरुषको बिहीबार बिहान ६ बजेतिर विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको हो ।

कोभिड अस्पतालका सूचना अधिकारी अनुपम राजवंशीकाअनुसार कोरोना पुष्टि भएपछि गत वैशाख ४ गते उपचारका लागि अस्पताल भर्ना गरिएका मृतकमा श्वासप्रश्वास र ज्वरोको समस्या थियो ।

‘अस्पताल भर्ना गरिएदेखि नै अवस्था गम्भीर थियो, ‘उनले भने, ‘सुरुदेखि नै नियमित आईसीयूमा राखेर उपचार थालिएको भए पनि बचाउन सकिएन ।’

राजवंशीकाअनुसार बुधबार साँझबाट संक्रमित पुरुषको अवस्था थप गम्भीर बनेपछि परिवारका सदस्यसँगको समन्वयमा थप उपचारका लागि भेन्टिलेटरमा राखिएको थियो ।

त्यस्तै उपचारका लागि मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा पुर्‍याउन साथ कोरोना संक्रमित एक जना वृद्धा महिलाको मृत्यु भएको छ । सुनसरीको इटहरी–४ की ६२ वर्षीया महिलाको बुधबारराति १०ः४० बजेतिर मृत्यु भएको विराटका कोभिड–१९ अस्पताल इन्चार्ज सुनिल देवले बताए ।

उनकाअनुसार श्वासप्रश्वास र निमोनियाको समस्या देखिएपछि महिलालाई केही दिनअघि उपचारका लागि अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो । पीसीआर परीक्षण गराउँदा बुधबार दिउँसो उनको रिपोर्ट पोजिटिभ आएको थियो ।

त्यसपछि आफन्त र परिवारका सदस्यले उपचारका लागि कोशी कोभिड अस्पताल लगेका थिए ।

त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि फर्काएर विराटकै कोभिड अस्पतालमा ल्याइएकी महिलाको आइसोलेसनमा भर्ना गर्न नपाउँदै मृत्यु भएको जानकारी देवले दिए । उनका अनुसार शव व्यवस्थापनका लागि पहल भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्