कोरोनाको प्रभावमा जनगणना

प्रकाशित मिति : असार २, २०७८ बुधबार


काठमाडौं । मुलुक संघीयतामा गएपछि पहिलो पटक जेठ २५ देखि असार ८ गतेसम्म राष्ट्रिय जनगणना हुँदैछ ।

तर, कोरोना भाइरस महामारीको दोस्रो लहरले छोपेको यो कठिन परिस्थितिमा जनगणना कसरी हुन्छ ? ‘कठिन अवस्था छ । घर व्यवहारदेखि राज्यको अवस्था पनि गम्भीर छ’, केन्द्रीय तथ्यांक विभागका निर्देशक ढुण्डीराज लामिछाने भन्छन्, ‘हाललाई गर्न सकिन्छ नै भनेर काम गरिरहेका छौं ।’

निर्देशक लामिछानेका अनुसार सरकारले जनगणना नरोक्ने भनिरहेको छ । गृह मन्त्रालयले सूचना जारी गरेरै जनगणनाका लागि हुने कुनै पनि गतिवधि निषेधाज्ञाका कारण नरोकिने जनाएको खबर अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

‘छलफल चलिरहेको छ । अझै केही भन्ने अवस्था छैन । हाम्रो काम भने रोकिएको छैन’, लामिछाने भन्छन् ।

५० हजार गणकलाई बिहीबारदेखि तालिम दिनुपर्ने कार्यतालिका छ । तर, बिहीबार नै काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू हुँदैछ । निर्देशक लामिछाने गणकलाई विभिन्न समूहमा तालिम दिने तयारी रहेको बताउँछन् ।

तालिमका लागि आवश्यक व्यवस्था मिलाइने गृह मन्त्रालयको सूचनामा उल्लेख छ । मन्त्रालयका प्रवक्ता जनकराज दाहाल जनगणना राष्ट्रिय कार्यक्रम भएकाले तालिम सञ्चालन गर्न मन्त्रालयले सहजीकरण गरिदिएको बताउँछन् ।

निर्देशक लामिछाने गत वर्षको पाइलट जनगणनाको कोभिडकै बीचमा गरिएको सुनाउँछन् । जनस्वास्थ्यका मापदण्ड अपनाएर जनगणना भने गर्न सकिने लामिछानेको भनाइ छ ।

‘पोहोर पनि सुरुवातमा पाइलट जनगणना पनि बिथोलिएको थियो । तर, असारमा कोभिडकै बीचमा सम्पन्न गरेका थियौं’, उनी भन्छन्, ‘फिल्डमा समस्या छैन । जान सक्ने वातावरण भयो भने जनगणना हुन्छ । सबै जना घरमा हुने भएकाले झन् तथ्यांक लिन सजिलो हुन्छ ।’

उनीे अवस्थाको जटिलता र व्यावहारिक पक्षलाई हेरेर भोलि के होला भन्न सकिहाल्ने अवस्था नरहेको बताउँछन् । ‘अहिलेसम्म गर्न भनेर लागेका छौं । तर, भन्न सकिन्नँ’, उनी भन्छन्, ‘व्यावहारिक रूपमा भोलि के होला ?’


प्रतिक्रिया दिनुहोस्