काठमाडौँ छाडेर गाँउ फर्किनेको भीडले उपत्यकामा ट्राफिक जाम

प्रकाशित मिति : असार ५, २०७८ शनिबार


काठमाडौं । काठमाडौँ उपत्यकामा भोलिबाट निषेधाज्ञा लागू हुँदै छ।

निषेधाज्ञा लागू हुने भएपछि काठमाडौँ छाडेर घर फर्किने मानिसहरुको लर्को लागेको छ। घर फर्किन गोंगबुस्थित नयाँ बसपार्कमा घर जाने यात्रुको भीड लागेको छ।

काठमाडौं उपत्यकामा सवारी चाप बढेको छ। निषेधाज्ञा अगावै गाउँ फर्किनेको भीड लागेपछि उपत्यकाको ट्राफिक जाम भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

भीड बढेसँगै लामो दूरीका सार्वजनिक यातायातमा टिकट नपाएको गुनासो यात्रुहरुले गरेका छन्।

लामो दूरीका सवारीसाधन थोरै भएका कारण नयाँ बसपार्कमा टिकट अभाव भएको हो। टिकट पाएकाले पनि महँगो शुल्क तिर्नुपरेको गुनासो गरेका छन्।

उपत्यकाका विभिन्न नाकाबाट मानिसहरू बाहिरिने क्रम तिब्र छ। बुधबार र बिहिबार गरेर लाखौं मानिसहरू बाहिरिएको महाशाखाले जनाएको छ।

यात्रुहरू धेरैजसो काठमाडौंको नागढुंगाबाट बाहिरिएका छन्। नागढुंगाबाट मात्रै ४५ हजार ६ सय ६५ यात्रु बाहिरिएका हुन्।

नयाँ बसपार्कमा अन्य समयमा यात्रु नपाएर खाली हिँडन बाध्य सार्वजनिक यातायातहरु मंगलबार र बुधबार भने भरिभराउ यात्रु बोकेर गन्तव्यतर्फ लागेका छन्।


प्रतिक्रिया दिनुहोस्