गण्डकी प्रदेश सभाः मुख्यमन्त्रीबिरूद्ध अविश्वासकाे प्रस्तावमाथि छलफल जारी

प्रकाशित मिति : असार २, २०७८ बुधबार


काठमाडौं । आज दिउसो १ बजे बोलाइएको गण्डकी प्रदेश सभा बैठकमा अविश्वासको प्रस्तावमाथि छलफल हुँदैछ । बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल हुन लागेको हो।

छलफल चाँडै सकिए आजै मतदान हुनसक्ने सम्भावना छ। ६० जना गण्डकी प्रदेश सभा सदस्यमध्ये एमाले २८, कांग्रेस १५, माओवादी १२ र जसपाका २ सांसद छन्। भने जनमोर्चाको ३ जना सांसद छन्।

बहुमतका लागि ३१ सांसदको आवश्यकता पर्ने मुख्यमन्त्री गुरुङलाई सरकार जोगाउन एमालेबाहेकका ३ सांसदको समर्थन आवश्यक छ। यसैबीच कोरोना संक्रमित सांसदले पनि अविश्वास प्रस्ताव टुंगो लगाउन मतदान गर्न पाउने भएका छन्।

मुख्यमन्त्री गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि जारी छलफलमा मंगलबार नेकपा (एमाले)ले सांसदहरुले पीसीआर परीक्षणको माग गर्दै संसद् अवरुद्ध गरेका थिए। त्यसपछि मंगलबार नै सबै सांसदको कोरोना परीक्षण गरिएको थियो ।

कोरोना संक्रमण देखिएमा पनि सांसदले अविश्वास प्रस्ताव टुंग्याउन गरिने मतदानमा भाग लिन पाउने छन् तर, कोरोना संक्रमण देखिएका सांसदले अविश्वास प्रस्तावमाथिको छलफलमा भने भाग लिन पाउने छैनन्।

आज मतदान हुँदै

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि आज मतदान हुँदैछ ।

आज दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा अविश्वास प्रस्ताव निर्णयार्थ पेश हुनेछ ।


प्रतिक्रिया दिनुहोस्