अमेरिकामा अब खोप लगाइसकेपछि मास्क लगाउन नपर्ने

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । अमेरिकाको सेन्टर फर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडिसी)ले पूर्ण खोप लगाइसकेका अमेरिकीहरूले बाहिर खुला क्षेत्रमा हिँडडुल गर्दा मास्क लगाउन नपर्ने घोषणा गरेको छ ।

खोपका आवश्यक मात्रा लगाइसकेकाहरूले एक्लै हुँदा वा खोप लगाइसकेका अन्य व्यक्तिहरूको सानो समूहमा अनुहार ढाक्न नपर्ने उसले नयाँ मापदण्डमा उल्लेख गरेको छ। तर कोठाभित्र वा भिडभाडयुक्त स्थलहरूमा अझै पनि मास्क लगाउन उसले भनेको छ ।

हालसम्म ९ करोड ५० लाख अमेरिकीले खोपको पूर्ण मात्रा लगाइसकेका छन् । सीडिसीको नयाँ मापदण्डप्रति राष्ट्रपति जो बाइडनले खुसी व्यक्त गरेका छन् । उनले कोरोनाभाइरस खोपका पूर्ण मात्रा लगाइसकेका मानिसहरूलाई अब बाहिर मास्क लगाउन नपर्ने बताएका छन् ।

उक्त घोषणापछि राष्ट्रपति बाइडन ह्वाइट हाउसमा मास्कविना केहीबेर हिँडेका थिए । महामारीविरुद्ध लडाइँमा अमेरिकाले चमत्कारी प्रगति हासिल गरेको भन्दै उनले ज्यानुअरीमा कार्यभार सम्हालेयता सङ्क्रमण तथा मृत्यु नाटकीय ढङ्गले घटिरहेको बताए ।

‘आजदेखि साथीभाइसँग पार्कमा भेट्दा वा पिकनिकमा जाँदा यदि तपाईँले खोप लगाइसकेको हो भने र यदि बाहिर खुला हावामा हुने हो भने मास्क लगाउनु पर्दैन’ उनले भने।राष्ट्रपति बाइडनले खोप नलगाएका अमेरिकीहरूलाई खोप लिएर देशभक्तिपूर्ण कार्य गर्न पनि आह्वान गरे ।

अमेरिकामा खोप अभियान विस्तार हुँदै जाँदा त्यहाँ सङ्क्रमण स्थिर हुन थालेको स्वास्थ्य अधिकारीहरूले बताएको बीबीसीले उल्लेख गरेको छ ।


प्रतिक्रिया दिनुहोस्