जीप दुर्घटना र कोरोना सङ्क्रमणबाट २ जनाको निधन

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


तनहुँको ऋषिङ गाउँपालिका–१ धारापानीमा आज जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ । दुर्घटनामा १५ घाइते भएका छन्।

दमौलीबाट भिरकोटतर्फ जाँदै गरेको ग१ज ७६०० नम्बरको जीप सडकबाट ७० मिटर तल खस्दा भएको दुर्घटनामा परी व्यास नगरपालिका–५ बस्ने २५ वर्षीया मनु थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए।

निजलाई दमौली अस्पतालका चिकित्सकले मृत घोषणा गरेका थिए।

दुर्घटनामा परी ऋषिङ गाउँपालिका–२ बस्ने २६ वर्षीया रुपा थापा, निजका छोरा दुई वर्षीय सलिम थापा, सोही ठाउँ बस्ने २६ वर्षीया गीतामाया थापा, निजका छोरा आठ वर्षीय डिप्चन थापा, छोरी पाँच वर्षीया अस्मी थापा, बहिनी २० वर्षीया करिश्मा थापा घाइते भएका छन।

त्यस्तै ऋषिङ गाउँपालिका–२ कै ४५ वर्षीय टीकाराम थापा, व्यास नगरपालिका–५ की पाँच वर्षीया अनामिका थापा, ऋषिङ गाउँपालिका–२ की बलिसरा थापा, व्यास नगरपालिका–७ की २३ वर्षीया दिलु थापा, निजकी छोरी दुई वर्षीया सुहानी थापा, ऋषिङ गाउँपालिका–२ का २८ वर्षीय लालबहादुर नेपाली र जीप चालक २९ वर्षीय गुजलसिं महारी घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये रुपा थापा, सलिम थापा र अनामीका थापालाई पोखरा पठाइएको र अन्य घाइतेको दमौलीस्थित अस्पतालमा उपचार भइरहेको छ।

यसैबीच कोरोना सङ्क्रमणका कारण तनहुँको शुक्लागण्डकी नगरपालिकाका एक पुरुषको मृत्यु भएको छ। शुक्लागण्डकी नगरपालिका–९ का ८३ वर्षीय पुरुषको पोखरास्थित मेडिप्लस अस्पतालमा उपचार क्रममा आज मृत्यु भएको हो।

उनमा वैशाख ८ गते कोरोनाको सङ्क्रमण पुष्टि भएको थियो। उनमा निमोनियालगायत समस्या रहेको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

यसैगरी गोरखाको पालुङटार नगरपालिका–५ की ६७ वर्षीया महिलाको पनि उपचारको क्रममा आज मृत्यु भएको छ । उनमा वैशाख १३ गते सङ्क्रमण पुष्टि भएको थियो । यससँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २१७ पुगेको स्वास्थ्य निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए।

आइसोलेशन कक्ष सञ्चालन गरिने

जिल्लामा विगतमा सञ्चालनमा रहेका आइसोलेशन कक्ष पुनः सञ्चालनमा ल्याइने भएको छ । कोभिडको जोखिम पुनः वृद्धि हुँदै गएपछि कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले विगतमा सञ्चालनमा भएका आइसोलेशन कक्ष पुनः सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।

जिल्लामा कोभिडको जोखिम कम हुँदै गएको र सङ्क्रमित नभएपछि विगतमा सञ्चालनमा रहेका आइसोलेशन कक्ष सञ्चालनमा थिएनन्। सङ्कट व्यवस्थापन केन्द्रले सबै स्थानीय तहमा रहेका स्वास्थ्य संस्थामा पूर्वाधारसहित आइसोलेशन कक्ष तयारी अवस्थामा राख्न निर्देशन दिएको छ।

प्रमुख जिल्ला अधिकारी सागर आचार्यका अनुसार बैठकमा नयाँ भेरियन्टको कोभिड–१९ महामारी नेपालमा बढ्दै गएको र त्यसलाई नियन्त्रण गर्न चालिने कदमका बारेमा छलफल भएको थियो।

शुक्लागण्डकीस्थित जिपी कोइराला उपचार केन्द्रले २५ उच्च निर्भरता एकाइसहित कम्तीमा ५० श्ययाको आइसोलेशन तयारी अवस्थामा राख्ने निर्णय भएको छ । बैठकले मन्त्रिपरिषद्को वैशाख ६ गतेको निर्णयअनुसार जारी भएको आदेशअनुसार सवारी साधन सञ्चालन भए नभएको अनुगमन गरी कारवाही गर्ने एवं अन्य विषयमा नेपाल प्रहरी र स्थानीय तहले अनुगमन गर्ने निर्णय गरेको छ ।

मठमन्दिरमा पूजा बन्द

कोरोनाको जोखिम बढेपछि तनहुँको प्रसिद्ध धार्मिक तीर्थस्थलमा पूजाआजा बन्द गरिएको छ।

व्यास नगरपालिकामा अवस्थित छाब्दीबाराही मन्दिर र शुक्लागण्डकी नगरपालिकामा अवस्थित ढोरबाराही मन्दिरमा आजदेखि पूजा बन्द गरिएको हो।

कोरोनाको जोखिम बढ्न थालेपछि जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले सबै धार्मिक तीर्थस्थल, गुम्बा, मस्जिद, चर्चलगायत जमघट नगर्न निर्देशन जारी गरेको थियो । सोहीबमोजिम व्यास नगरपालिका–१४ स्थित छाब्दीबाराही मन्दिर र शुक्लागण्डकी नगरपालिका–९ स्थित ढोरबाराही मन्दिरमा पूजाआजा रोकिएको हो ।

छाब्दीबाराही मन्दिरका अध्यक्ष प्रेम थापाले कोरोनाको त्रास बढेसँगै मन्दिरमा पूजाआज रोक लगाइएको जानकारी दिए।

“मन्दिरमा पूजाआजाका लागि विभिन्न जिल्लाबाट भक्तजन आउने र कोरोनाको जोखिम बढ्ने भएकाले पूजाआजा रोक लगाइएको हो”, उनले भने, “नित्य पूजा भने नियमित रहन्छ।” शनिबारका दिन छाब्दीबाराही मन्दिरमा भक्तजनको अत्यधिक भीडभाड रहने गर्दछ।

शुक्लागण्डकी नगरपालिका–९ का वडाध्यक्ष लोकनारायण श्रेष्ठले आजदेखि ढोरबाराही मन्दिरमा पूजा रोकिएको जानकारी दिए।

“प्रशासनले मन्दिरमा भीडभाड नगर्न सूचना जारी गरिसकेको अवस्थामा आजदेखि पूजा रोकिएको छ”, श्रेष्ठले भने।

कोरोना कहरका कारण बन्द रहेको मन्दिर गत मङ्सिरदेखि मात्र भक्तजनका लागि खुला गरिएको थियो।

बाजस्थलमा रहेको ढोरबाराही मन्दिरलाई भगवान् विष्णुको तेस्रो अवतारका रुपमा लिइन्छ । मन्दिरको दर्शन गरेमा भाकल पूरा हुने, रोगव्याधि निको हुने जनविश्वास छ । यसर्थ टाढा टाढाबाट भक्तजन आउँछन् ।

जङ्गलले चारैतिर घेरिएको पहाडको बीचमा मनोरम स्थानमा मन्दिर छ । मन्दिरसँगै रहेको पोखरी र पोखरीमा रहेको माछाले भक्तजनको मन रमाउँछ । मन्दिर परिसरको करिब १५ फिट फराकिलो पोखरी र पोखरीको बीचमा दुइजोर शिला छन्।

पोखरीमा कम्तीमा पन्ध्र मिनेटको अन्तरालमा छुट्ने रहस्यमय लहरी (पानी घटबढ) हुनुले ढोरबाराही मन्दिरप्रतिको आस्थालाई अझ बढाएको छ।

पोखरीको मूलबाट पानीको ठूलो भल आउँछ। एकैछिनमा फेरि स्वतः घट्दै जान्छ । यसरी यहाँको पोखरीमा लहरी छुट्नुलाई धार्मिक आस्थासँग जोडिएको छ । ढोरबाराही माता प्रसन्न हुँदा लहरी छुट्ने धार्मिक कथन छ । मन्दिरमा चल्ने लहरीलाई महत्वपूर्ण दैवीशक्तिका रुपमा लिइने गरिन्छ। मन्दिरमा बडादशैंको नवदुर्गा, चैतेदशैँको नवदुर्गा, नयाँवर्षको दिन, वैशाख महिनाभर, श्रीपञ्चमी र हिउँदयाममा भक्तजनको ओइरो लाग्ने गर्छ। मनले चिताएको पूरा हुने जनविश्वासका साथ मन्दिरमा तनहुँसँगै छिमेकी जिल्ला कास्की, स्याङ्जा, लमजुङ, पाल्पा, गोरखा, चितवन, नवलपरासीलगायत देशका विभिन्न स्थानबाट भक्तजन आउने गरेका छन्। यस मन्दिरलाई हिन्दू धर्मावलम्बीको आस्थाको धरोहरसमेत मानिँदै आएको छ। हिमवत्खण्ड पुराणमा समेत चर्चा गरिएको ढोरबाराही मन्दिरमा देवीको चर्तुवाहु मूर्तिसमेत पाइन्छ । यस मन्दिरमा विसं १९०४ सालदेखि चढाइएका घण्टसमेत रहेका छन्।

ढोरबाराही माता प्रशन्न हुँदा लहरी छुट्ने किंवदन्ती रहेको छ। उक्त पोखरीमा हिउँदयाममा केही समय लहरी छुट्दैन । हिउँदको समयमा ढोरबाराही माता माइत जाने भएकाले लहरी नछुट्ने कथन छ।

मस्जिदमा सामाजिक दूरी

व्यास नगरपालिका–४ स्थित नुरी हनफी जामे मस्जिदमा सामाजिक दूरी कायम गरी नमाज पढ्ने गरिएको छ । मुस्लिम समुदायको महान् पर्व रमदान चलिरहेकाले मुस्लिम धर्मावलम्बीले सचेतना अपनाएर मस्जिदमा नमाज पढ्ने गरेका हुन् । मस्जिदका सचिव मन्सुर अहमदले २५ जनाभन्दा बढी भेला हुन रोक लगाइएको जानकारी दिए।

“सबैजना डराएको अवस्था छ, अधिकांश घरमै नमाज पढ्नुहुन्छ”, उनले भने।


प्रतिक्रिया दिनुहोस्