गर्भवती शिक्षिकालाई विदा नदिने प्रधानाध्यापकलाई १० हजार जरिमाना

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  १२ : ३९


काठमाडौं । जिल्ला अदालत काठमाडौँले गर्भवती शिक्षिकालाई ‘यातनाजन्य व्यवहार’ गरेको आरोपमा असनको त्यौड माविका प्रअ सुरेन्द्र केसीलाई दोषी ठहर गर्दै जरिमाना र क्षतिपूर्तिको आदेश गरेको छ ।

न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले प्रधानाध्यापक केसीलाई १० हजार रुपैयाँ जरिमाना गर्ने र पीडितलाई २० हजार क्षतिपूर्ति भराउने फैसला गरेको छ । साथै प्रधानाध्यापकको तलबबाट २ सय रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्न आदेश दिएको छ ।

स्वास्थ्य अबस्था प्रतिकूल भएकाले चिकित्सकले आराम गर्नुपर्ने भनी सिफारिस गर्दासमेत गर्भवती शिक्षिकालाई बिदा नदिएर ‘यातनाजन्य व्यवहार’ गरेको आरोप प्रअ केसी माथि लागेको थियो ।

राष्ट्रिय महिला आयोगले प्रधानाध्यापक केसीलाई चेतावनीसहितको पत्र पठाउँदा पनि शिक्षिकालाई विदा दिएनन् । विदा नदिएपछि निरन्तर विद्यालय गएकी उनले २०७६ भदौको पहिलो साता थापाथलीस्थित प्रसुतिगृहमा जन्माएको शिशुको मृत्यु भएको थियो ।

शिशुको मृत्यु भएपछि पनि शिक्षिकाले यातनाजन्य व्यवहारका कारण आफूले शिशु गुमाउनु परेको भन्दै उजुरी दिएकी थिइन् ।


प्रतिक्रिया दिनुहोस्