झाडापखालाबाट एकै घरका दिदीबहिनीको निधन

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ९ : ०३


दाङ । दाङमा झाडापखालाबाट एकै घरका दिदीबहिनीको मृत्यु भएको छ । शनिबार बेलुका स्थानीय खोलाबाट ल्याएको माछा पकाएर खाएपछि झाडापखाला लागेका राजपुर गाउँपालिका–६ का प्रेम बुढाका ११ वर्षीया रीता बुढा र १३ वर्षीया विनिता बुढाको निधन भएको हो ।

दिदी विनिताको आइतबार बिहान २ बजेतिर र बहिनी रीताको बिहान ६ बजेतिर निधन भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक राजकुमार भट्टले जानकारी दिए।

उपचारका क्रममा निधन भएका उनीहरुको शव परीक्षणका लागि लमही अस्पतालमा राखिएको छ । उता दाङकै बबई गाउँपालिका–४ मा एक महिलाकाे काेराेना कारण मृत्यु भएकाे छ ।

श्वासप्रश्वासमा समस्या देखिएपछि शनिबार उपचारका लागि नेपालगञ्ज लगिएको थियाे । यस्तै बबई गाउँपालिकामा आज बिहानदेखि लागू हुने गरी लकडाउन गरिएको छ ।

गाउँपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या र मृत्युदर बढ्न थालेपछि अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि लकडाउन गरिएको गाउँपालिकाका प्रेस संयोजक प्रेमबहादुर राम्जाले जानकारी दिए ।

गाउँपालिकामा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या १९ पुगेको छ भने दुई जनाको मृत्यु भएको छ । स्थानीय प्रशासन, उद्योगी, व्यापारीसँग समन्वय गरेर गाउँपालिकाले लकडाउन गरेको प्रेस संयोजक राम्जाले बताए ।


प्रतिक्रिया दिनुहोस्