कोभिडग्रस्त भारतलाई दुनियाँभरिबाट सहयोग

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ६ : ५७


काठमाडौं । कोरोनाभाइरस महामारीका कारण गम्भीर रूपमा प्रभावित भारतलाई अमेरिकासहित कैयन् देशहरूले आपत्कालीन मेडिकल सहयोगको वाचा गरेका छन् ।

भारतमा आस्ट्राजेनेका खोप निर्माणका निम्ति खट्किएका कच्चा पदार्थमा लगाइएको निर्यात प्रतिबन्ध अमेरिकाले हटाइदिएको छ । यूकेले त्यहाँ भेन्टिलेटर तथा अक्सिजन कन्सन्ट्रेटर उपकरणहरू पठाउन थालेको छ । युरोपेली युनियनका सदस्य राष्ट्रहरूले पनि सहयोग पठाउँदैछन् ।

भारतको राजधानी दिल्लीमा भरिएका अस्पतालहरूले बिरामी फर्काउँदैछन् । त्यहाँ लकडाउन लम्ब्याइएको छ । भारत सरकारले अक्सिजन उत्पादनमा बढोत्तरी गर्न देशभरि ५०० वटा कारखाना खोल्न अनुमति दिएको छ । यसबीच छिमेकी बाङ्लादेशले सङ्क्रमण फैलनबाट रोक्न सोमवारदेखि भारतसँगको सीमाना बन्द गर्ने बताएको छ ।

भारतमा दैनिक करिब साढे तीन लाख थप सङ्क्रमित भेटिएको अनि २७ सय भन्दा धेरैको ज्यान गएको आइतवार जनाइएको छ । अमेरिकामा ह्वाइटहाउसले भारतका खोप उत्पादकहरूलाई आवश्यक पर्ने कच्चा पदार्थ तत्काल उपलब्ध गराउने भनेको छ ।

‘जसरी भारतले हामीलाई महामारीको सुरुवाती चरणमा अस्पतालहरूको सहयोगका निम्ति मद्दत ग¥यो, अहिले हामी भारतलाई मद्दत गर्न दृढ छौँ’, राष्ट्रपति जो बाइडनले भने । भारतीय अधिकारीहरू तथा सिरम इन्स्टिच्युट अफ इन्डियाले अमेरिकालाई उसले कच्चा पदार्थमा लगाएको निर्यात नियन्त्रण हटाइदिन भनेपछि अमेरिकाले यस्ता निर्णय गरेको हो । आफूकहाँ अधिक भएका खोप विदेश पठाउन ढिलाइ गरेकोमा पनि वाशिङ्टनको आलोचना भएको छ ।

अमेरिकाले भारतलाई मेडिकल तथा सुरक्षा उपकरण पनि पठाउँदैछ । यूकेले पठाएका सहयोग सामग्रीको पहिलो खेप मङ्गलवार त्यहाँ पुग्दैछ । थप सहयोग यसै साता पुग्ने बताइएको छ । यूकेले ४९५ अक्सिजन कन्सन्ट्रेटर उपकरण जसले हावाबाट अक्सिजन तान्नसक्छ तथा १२० नन इन्भेजिभ भेन्टिलेटर तथा २० म्यानुअल भेन्टिलेटर पठाउँदै छ ।

‘यो निकै चिन्ताजनक समयमा हामी एक मित्र र साझेदारका रूपमा भारतसँगै खडा छौँ’, यूकेका प्रधानमन्धी बोरिस जोन्सनले भनेका छन् । सङ्क्रमण तेज भएका कारण जोन्सनको भारत भ्रमण रद्द गरिएको छ तथा भारतमाथि हाल यात्रा प्रतिबन्ध लगाइएको छ । यूएइ, क्यानडा, जर्मनी तथा नेदर्ल्यान्ड्सले पनि भारतबाट आउने उडानमा प्रतिबन्ध लगाएका छन् ।

यसबीच फ्रान्सले भारतमा अक्सिजन आपूर्ति गर्ने बताएको छ । साथै युरोपेली युनियनले पनि अक्सिजन तथा औषधि पठाउने बताएको छ । भारतसँग तनावपूर्ण सम्बन्ध रहेको पाकिस्तानले पनि सहयोग गर्न सक्ने बताएको छ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतको अवस्था चाँडै सुध्रियोस् भनेर प्रार्थना गरेको जनाएका छन् ।

भारतमा स्वास्थ्य अधिकारीहरूका अनुसार त्यहाँ यूके भेरिअन्ट एवं भारतमै अक्टोबरमा भेटिएको अर्को भेरिअन्टका कारण अहिले तेज सङ्क्रमण फैलिरहेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले यो सङ्क्रमणलाई आँधी सरह आएको भनेका छन् । दोस्रो लहरको सङ्क्रमण रोक्न विफल भएको भन्दै प्रधानमन्त्री मोदीको सरकारको आलोचना भएको छ । भारतमा हालसालै ठूल्ठूला राजनीतिक ¥याली एवं धार्मिक भेला भएका थिए ।
-बीबीसी


प्रतिक्रिया दिनुहोस्