घण्टैपिच्छे मृत्यु, संक्रमण दर उच्च

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ८ : ५९


काठमाडौं । मुलुकभर कोरोना भाइरस संक्रमण उच्च दरमा वृद्धि भइरहेका बेला मृत्युदर पनि बढेको छ ।

नेपालमा औसतमा प्रत्येक घण्टामा ज्यान जान थालेको छ । पछिल्लो २४ घण्टामा आइतबार २८ जनाको मृत्यु भएको छ । जसमा सबैभन्दा बढी बाँकेका ६ जना छन् ।

कोरोनाको दोस्रो लहर सुरु भएयता आइतबार मृत्यु हुनेको संख्या सबैभन्दा उच्च हो । यसअघि कात्तिक १९ गते ३० जनाको मृत्यु भएको थियो । शनिबार १४ जनाको निधन भएको थियो ।

मुलुकभर आइतबार संक्रमित भने ३ हजार १ सय २२ जना थपिएका छन् । ९ हजार २ सय ९२ पीसीआर र ७ सय ६ एन्टिजेन गरी १० हजार ७८ जनाको परीक्षण गरिएको थियो । काठमाडौं उपत्यकामा १ हजार ४ सय ९८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौंमा १ हजार १ सय ३२, ललितपुरमा २ सय ७० र भक्तपुरमा ९६ गरी १ हजार ४ सय ९८ जना संक्रमित छन् । मुलुकभर २ सय ५२ जना सघन उपचार कक्ष (आईसीयू) मा भर्ना भएकाे खबर अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

जसमध्ये ६५ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । मुलुकभर ६९ जना क्वारेन्टाइनमा छन् ।

प्रवक्ता डा. गौतमले पछिल्लो २४ घण्टा (आइतबार) मा ४ सय ५० जना डिस्चार्ज भएको बताए । हालसम्म कोरोनाबाट मुक्त हुने दर ९२.५ प्रतिशत छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रमुख कन्सल्टेन्ट डा. अनुप बाँस्तोलाका अनुसार कोरोना संक्रमणको दोस्रो लहर फैलाउने भाइरस संक्रामक छ । ‘संक्रमण चाँडै फैलिएको देखिन्छ । यो संक्रामक भाइरसले युवालाई बढी गाँजेको छ’, डा. बाँस्तोलाले भने ।

उनका अनुसार ज्वरो आउने, निमोनिया, शरीर दुख्ने, शिथिलता हुनेलगायत लक्षणहरू देखापरेका छन् । कतिपय व्यक्ति ज्वरो नभई निमोनिया भएर पनि अस्पताल भर्ना हुन आउने गरेको चिकित्सक बताउँछन् ।

‘केही व्यक्ति बिना खोकी निमोनियाले गाह्रो बनाएपछि इमर्जेन्सीमा भर्ना हुनुभएको छ’, डा. बाँस्तोलाले भने। अस्पतालमा भर्ना भएका बिरामी हेर्दा पोहोरको तुलनामा युवाको संख्या बढी देखिन थालेको चिकित्सक बताउँछन् ।

नेपालमा कोरोनाको यूके भेरियन्ट र भारतमा देखिएको डबल म्युटेन्टका भाइरसको संक्रमण पनि फेला परेका छन् । यी भाइरस एकबाट अर्कोमा छिट्टै सर्ने चिकित्सकहरू बताउँछन् ।

मुलुकभर सक्रिय संक्रमितको संख्या १९ हजार ३ सय ८२ पुगेको छ । जसमध्ये संस्थागत आइसोलेसनमा १ हजार ५ सय ९४ जना छन् । होम आइसोलेसनमा १७ हजार ७ सय ८८ जना छन् ।

संक्रमण दर उच्च
काठमाडौं विश्वविद्यालयको जनस्वास्थ्य तथा सामुदायिक कार्यक्रम विभागका डा. बिराजमान कर्माचार्यले कोरोनाको दोस्रो लहरको संक्रमण उच्च दरमा फैलिएका मुलुकमध्ये नेपाल अग्रस्थानमा छ ।

गत साताको तुलनामा यस साता कोरोना संक्रमण झन्डै २४१ प्रतिशतले बढेको डा. कर्माचार्यको भनाइ छ ।

‘झन्डै २.५ गुणाले संक्रमितको संख्या बढेको छ । छिमेकी मुलुकसँग तुलना गर्ने हो भने पनि नेपालको संक्रमण दर निकै बढी छ,’ उनले भने, ‘छिमेकी मुलुकमध्ये माल्दिभ्समा ८०, भारतमा ६०, पाकिस्तानमा १३ प्रतिशतले संक्रमित बढेका छन् ।’


प्रतिक्रिया दिनुहोस्