मोटरसाइकल एकापसमा ठोक्किँदा दुईको मृत्यु

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  ७ : ४८


धनुषामा दुई मोटरसाइकल एकापसमा ठोक्किएर भएको दुर्घटनामा परी दुई मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।

इलाका प्रहरी कार्यालय ढल्केवरका अनुसार धनुषाको मिथिला नगरपालिका–८ कुसुमविसौनामा ग्रामीण सडकमा मोटरसाइकल दुर्घटना हुँदा एकै गाउँका दुई युवकको मृत्यु भएको छ।

मृत्यु हुनेमा कुसुमविसौनाका स्थानीयवासी २० वर्षीय भोला महतो र स्थानीयवासी २६ वर्षीय सुनिल शर्मा रहेको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिए।

प्रदेश २–०२–००२ प ६०३६ र प्रदेश २–०२–००३ प २८७७ मोटरसाइकल आइतबार दिउँसो एकापसमा ठोक्कएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु हुने दुवै मोटरसाइकल चालक हुन्।

दुर्घटनामा गम्भीर घाइते दुवै युवकलाई उपचारका लागि जनकपुर लग्ने क्रममा एक जनाको बाटोमै र अर्का युवकको जानकी हेल्थ केयरमा पुगेपछि मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा प्रदेश २–०२–००३ प २८७७ नंको मोटरसाइकलमा पछाडि सवार २५ वर्षीय सन्तोष महतोसमेत गम्भीर घाइते भएको इप्रका ढल्केवरका प्रहरी निरीक्षक सुवेदीले जानकारी दिए।

उनको उपचार लालगढस्थित मोडेल अस्पतालमा भइरहेको छ। दुवैको शवपरीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको छ र घटनाको विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ। रासस


प्रतिक्रिया दिनुहोस्