कोरोनाको दोस्रो कहरः होटल बुकिङ धमाधम रद्द

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  ९ : ४१


गलकोट । बागलुङमा कोरोना जोखिम बढेसँगै चलायमान हुँदै गरेको होटल व्यवसाय पुनः सङ्कटमा पर्न थालेको छ ।

कोरोनाका कारण धरासायी बन्न थालेका होटलहरु केही महिनायता राम्रो चले पनि बागलुङ कोरोनाबाट अति प्रभावित जिल्लाको सूचीमा परेको खबर सार्वजनिक भएपछि होटल व्यवसाय प्रभावित हुन थालेको होटल व्यवसायी बताउँछन् ।

कोरोनाको जोखिमयुक्त १४ जिल्लाको सूचीमा पर्नु र बागलुङका पर्यटकीय क्षेत्र वैशाख मसान्तसम्म बन्द गर्ने जिल्ला प्रशासन कार्यालय बागलुङको निर्णयका कारण होटलमा अग्रिमरूपमा भएको बुकिङसमेत धमाधम रद्द भएको होटल व्यवसायीले गुनासो गरेका छन् ।

प्रशासनले भिडभाड हुने पर्यटकीय क्षेत्रमा वैशाख मसान्तसम्म प्रवेशमा रोक लगाएपछि झण्डै जिल्लाका ५०० बुकिङ रद्द भएको होटल व्यवसायी सङ्घ बागलुङका अध्यक्ष निलेश राजभण्डारीले बताए ।

कोरोना जोखिम बढेसँगै जिल्ला प्रशासन कार्यालय बागलुङले मठ मन्दिर प्रवेश गर्न र सभा सम्मेलन गर्न रोक लगाएपछि होटलहरु सुनसान भएका हुन् ।

लामो समय कोरोनाले गर्दा ठप्प भएका होटल व्यवसाय लकडाउन खुुलेपछि सञ्चालनमा आएका थिए तर पुनः कोरोना जोखिम बढेसँगै व्यापार व्यवसाय चल्न छाडेका छन् ।

बागलुङका होटल चल्ने भनेकै बागलुङको प्रसिद्ध कालिका मन्दिर, विश्वकै लामो दाबी गरिएको ५६७ मिटर लामो बागलुङ बाङ्गेचौरबाट पर्वतको अदुवाबारी जोड्ने झोलुङगे पुल, पञ्चकोट र शालिग्राम सङ्ग्राहलय हेर्न पाठपूजा गर्न आउने भए पनि प्रशासनले रोक लगाएपछि व्यवसाय झनै ठप्पै भएको गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चोखाल बताउँछन् ।

अन्य जिल्लामा मठमन्दिर प्रवेशमा रोक नलगाइएको तर बागलुङमा बन्द हँुदा प्रत्यक्षरूपमा यहाँका व्यापारी मारमा परेको चोखालको गुनासो छ । उहाँले सम्बन्धित निकायले वैज्ञानिक ढङ्गले मापदण्ड बनाएर मठमन्दिरमा प्रवेश गर्न दिए राम्रो हुने बताउनुभयो ।

सम्बन्धित निकायले होटल व्यवसायीसँग छलफलसमेत नगरी अन्य जिल्लाबाट बागलुङ घुम्न आउने पर्यटकलाई रोक लगाएको होटल व्यवसायीको गुनासो रहेको चोखालले बताए ।

कालिका मन्दिर र मुक्तिनाथ दर्शन गर्न जाने तीर्थयात्रीले गर्दा नै बागलुङका होटल व्यवसायी चलेको तर अहिले मठमन्दिर प्रवेशमा रोक लगाउँदा होटल व्यवसायी मारमा परेको व्यवसायीको गुनासो छ ।

यो व्यापारको याम भए पनि बागलुङ बजारमै पर्यटक प्र्रवेशमा रोक लगाउँदा सबैभन्दा धेरै मारमा होटल व्यवसायी पर्ने गरेका छन् । विभिन्न कार्यक्रम र प्रयोजनका लागि गरिएको हल बुकिङ रद्द हुने क्रम दिनदिनै बढ्दो छ ।


प्रतिक्रिया दिनुहोस्