छोराछोरीको एकैपटक विहे हुँदै थियो, त्यहीबेला घरका सदस्यको कोरोनाले ज्यान लियो

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  ८ : ५९


-चन्द्रकान्त न्यौपाने, कपिलवस्तु

देशब्यापी कोरोनाको दोश्रो लहर फैलिरहेको छ। दिनप्रतिदिन संक्रमति हुने र मृत्यु हुनेको संख्यापनि बढेको बढ्यै छ।

कोरोनाको हस्टपट बनेका नेपालगंज, वीरगंज, बुटवल लगायतका स्थानमा कोरोना अस्पतालमा विरामीको यतिसम्म चाप छ कि कतिले उपचार नपाएर ज्यान गुमाउन बाध्य भएका छन्।

भर्ना हुन नपाएपछि अस्पतालको बाहिरै स्ट्रेचरमा विरामी रात कटाउन बाध्य छन्। कतिपय स्थानमा कोरोनाबाट मृत्यु भएकाको शव ब्यवस्थापनमा समेत समस्या भएको छ।

कोरोनाले अनेक पीडा दिने क्रममा कपिलवस्तुको बाणगंगा नगरपालिकामा शनिबार फरक खालको घटना भएको छ।

वडा नम्बर ४ चारनम्बरस्थित केसी परिवारमा कोरोनाले यस्तो पीडा दियो कि विहेको जन्ती जान्न ठिक्क परेका परिवारका सदस्य मलामी जान बाध्य हुनु पर्यो।

यस क्षेत्रकै नामुद ब्यापारीको रुपमा चिनिएका केसी परिवारमा विहे पनि फरक खालको हुँदै थियो। एक दिनको अन्तरमा छोरा र छोरीको धुमधामसंग विहे हुँदै थियो। छोरीलाई शुक्रवार राती नै टिकाटालो गरेर अन्माइसककिएको थियो। त्यसको एक दिनपछि वैशाख ११ गते शनिबार छोराको जन्ति जाने तयारी थियो। त्यसैको तयारीमा तिन तले घर रंगिएको थियो। बत्तिले झिलीमिली थियो।

विहेमा आउने आफन्तका सवारीले चार नम्बर तौलिहवा रोड भरिँदै थियो। अर्कोतिर रंगीचंगी टेण्ट टाँगिँदै थियो। काम गर्नेले काम गरिरहेका थिए। आउनेहरु शुटबुटमा ठाँट्टिएर आउँदै थिए। त्यसैबेला त्यो घरमा एक्कासी शोकको सन्नाटा छायो। अर्थात् घरका परिवारका एक सदस्यको कोरोनाको कारण काठमाण्डौँमा ज्यान गयो।

उपचाररत ५२ वर्षका पुरुषको अप्रत्याशित देहान्त भएको खबर आएपछि त्यहाँको माहौल एकाएक आँसुमा परिणत भयो । यो खबरले खुसीको संसारमा रमाएको केसी परिवारमा रुवाबासी चल्न थाल्यो। मानिसहरु भक्कानिन थाले। लगाइएको टेण्ट पनि निकालियो। विहे गेट भत्काइयो। विहे स्थगित गरेर त्यो परिवार कोरोनाको बज्रपात बोकेर मलामी जान बाध्य भए। विहे घरमा गएकाहरु आँखाबाट आँसु झार्दै आआफ्नो घरतर्फ लागे।

कोरोनाका कारण कपिलवस्तुमा यस्तो खालको घटना पहिलो पटक भएको हो। यस घटनाले समग्र जिल्लाबासीलाई समेत स्तब्ध बनाएको छ । केही समय अघि सामान्य लक्षण देखिएका ती पुरुषलाई यति चाँडै, यस्तो स्थितिमा कोरोनाले लैजान्छ कुनै शोभाशंका थिएन। यस्तो बज्रपात हुन्थ्यो भन्ने लाग्थ्यो भने यो धुमधाम हुने थिएन।

यो वैवाहिक कार्यक्रम हुन्थेन, परिवारकै एक जनाले भने, सहन नसक्ने पीडा कोरोनाले दियो । हट्टाकट्टा पुरुषको यसप्रकारको अकस्मात् निधनले सर्वसाधारणलाई पनि अचम्ममा पारेको छ । सोच्दै नसोचेको घटना भएको भन्दै परिवार अहिले शोकमा डुबेको छ।

आफ्नै आँखा अगाडी यस्तो खाले घटना भएपछि कोरोनालाई सामान्य रुपमा लिन नहुने चार नम्बरका एक युवकले बताए । उनले भने ‘कोरोनाले यस्तो पनि पीडा दिँदो रहेछ। मलाई त यति पीडा बोध भइरहेको छ त्यो परिवारलाई कस्तो भयो होला( आँसु पिल्पिलाउँदै’)।

पछिल्लो लहरमा आएको कोरोनाले देशभर अकालमै ज्यान लिइरहेको छ । बाणगंगामै शुक्रबार पनि वडा नम्बर ३ का ३३ बर्षका एक पुरुषको ज्यान लिएको थियो। यसरी नगरमा २ दिनमा २ जना हट्टाकट्टा पुरुषको ज्यान लिएपछि सामान्य रुपमा लिन नहुने सर्वसाधारणको बुझाई छ । पछिल्लो लहरमा कपिलवस्तुमा ज्यान जानेको संख्या ५ पुगेको छ भने संक्रमितको संख्या १ सय नाघेको छ।

यस्तो स्थितिमा प्रत्येक पालिकाले कडा ढंगको निर्णय लिनु पर्ने नागरिक समाजका अध्यक्ष दोलखबहादुर पछाई बताउँछन। तर खुला सिमाना भएको यस जिल्लामा त्यस्तो सुरक्षा सतर्कता भने अपनाइएको छैन।

प्रहरीले तपाईको मास्क खोइ अभियान चलाए पनि खुला वर्डरबाट आउजाउ रोकिएको छैन।

बाणगंगामै यस्तो घटना घट्दा पनि स्थानीय सरकारले सतर्कतामा कुनै चासो नदिएकोमा नगरबासीले चिन्ता ब्यक्त गरे।

पहिले भएका आइसोलेसन सेन्टर पनि अहिले छैनन्। आइसोलेसन बनाउनेमा अहिले कुनै छलफल छैन। बनाउने कुरो त परै जाओस्।

मृत्यु पछि कहाँ दाहसंस्कार गर्ने त्यसमा नगरले छलफल नै गर्दैन।

यसमा पूर्व तयारी नभएमा पछि भयावह स्थिति आउन सक्ने भन्दै सरोकारवालाले तुरुन्त नगरको ध्यानाकर्षण हुनुपर्ने बताएका छन्।

परिवार आफैले शवलाई ब्यवस्थापन गर्नु परेको छ, बाणगंगामा। वडा नम्बर ३ धनकौलीका एक होटल संचालक पुरुषको ज्यान जाँदा पनि शव व्यवस्थापनमा समस्या भएको थियो।

अहिले विद्यालय, हाटवजार चालु छन्। बिभिन्न विहे, ब्रतबन्ध, भोजभतेरमा सयौँको संख्यामा मानिसको भीँडभाड रहे पनि प्रहरी प्रशासन मुकदर्शक छ।

पसलमा मास्क प्रयोग छैन। सडकमा हिँड्नेहरु पनि खुलेयाम मास्कविहिन हिँडिरहेका छन्। यस्तो स्थितिमा स्वयमु नागरिक सचेत रहनु पर्ने र स्वास्थय मापदण्ड पालना नगर्नेहरुमाथि प्रहरीले कडाई गर्नु पर्ने अवस्था आएको नागरिकहरु बताउँछन्।

यस्तै लापरबाहि बढ्दै जाने हो भने कपिलवस्तु कोरानाको मुख्य केन्द्र बन्न बेर नलाग्ने चार नम्बरका एक सर्वसाधारणले बताए।

 


प्रतिक्रिया दिनुहोस्