सिन्धुलीमा मोटरसाइकल दुर्घटना, प्रहरी जवानसहित तीन जनाको मृत्यु

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  ८ : ०५


सिन्धुली । सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँदा एक प्रहरी जवानसहित तीन जनाको घटनास्थलमै ज्यान गएको छ ।

मदन भण्डारी लोकमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–१४ चन्दनपुरमा शुक्रबार साँझ प्रदेश २–००१ प २१६३ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो ।

दुर्घटनामा दुधौली नगरपालिका–४ डकाहा निवासी प्रहरी जवान २६ वर्षीय यमकुमर दनुवार, उनका भतिजा १३ वर्षीय आशिष कुमर र नौ वर्षीय बालक अदित कुमर दनुवारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीले जनाएको छ ।

यमकुमर जिल्ला प्रहरी कार्यालय सर्लाहीमा प्रहरी जवान पदमा कार्यरत रहेका प्रहरीले जनाएको छ ।

सिन्धुलीका प्रहरी नायव उपरीक्षक मनोजकुमार लामाले दुर्घटनामा उनीहरुको घटनास्थलमै मृत्यु भएको जानकारी दिए । कमलामाई नगरपालिकाको भिमानबाट दुधौलीतर्फ जाँदै गरेको प्रदेश २–००१ प २१६३ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ पल्टिँदा दुर्घटना भएको हो ।

दुर्घटना स्थलबाट प्रहरीले उठाएर उनीहरुलाई जिल्ला अस्पताल सिन्धुली पुर्‍याएको थियो । अस्पतालका डाक्टरले उनीहरुको बाटैमा मृत्यु भएको घोषणा गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्