मनकारी बेहनाः कोरोना सङ्क्रमितका लागि अक्सिजन किन्न सहयोग

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  ९ : २८


बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा अक्सिजन ग्यास सिलिण्डर खरिदका लागि नेपालगञ्ज उपमहानगरपालिका–४ का अध्यक्ष सफिक बेहनाले रु दुई लाख सहयोग गरेका छन।

कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै अक्सिजन अभावलाई ध्यानमा राखेर भेरी अस्पतालले सहयोगका लागि अपिल गरेपछि आफूले व्यक्तिगत तर्फबाट दुई सय सिलिण्डर अक्सिजन खरिदका लागि सो रकम सहयोग गरेको अध्यक्ष बेहनाले जानकारी दिए।

मिडिया र सामाजिक सञ्जालमार्फत अस्पतालमा अक्सिजन अभावका कारण बिरामीलाई समस्यामा भइरहेको थाहा पाएपछि आफूले सो रकम सहयोग गरेको उनले जानकारी दिए।

उनले अहिले मुस्लिमहरुको पवित्र महिना रमजान चलिरहेको र यसमा गरिब असहायहरुलाई दान दिने चलनअनुसार आफूले अक्सिजन खरिदका लागि सहयोग गरेको बताउँदै यस्ता मानवीय कार्यमा सहयोग गर्न सम्पूर्ण मुस्लिम समुदायलाई आग्रहसमेत गरे।

भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले अस्पतालमा अक्सिजन प्राप्त गर्न नसकेर छटपटाएर बिरामी मर्न सक्ने अवस्था आएको बताउँदै यस्तो अवस्थामा मनकारी बेहनाले सहयोग गरेकोमा धन्यवाद दिए।

अस्पतालमा दैनिक रु तीन लाख बराबरको अक्सिजन खपत हुने गरेको बताउँदै उनले अब अस्पतालको स्रोतले धान्न नसक्ने अवस्थामा रहेकाले यसमा सबैको हातेमालो आवश्यक रहेको बताए।

नेपालगञ्ज उपमहानगरका नगर प्रमुख डा धवलशम्शेर राणाले कोरोनाका कारण नेपालगञ्जमा विकराल अवस्था सिर्जना भइरहेकाले यो महामारीलाई सबैले एकजुट भएर सामना गर्नुपर्ने बताए।

थप तीन सङ्क्रमितको मृत्यु

कोरोना सङ्क्रमणका कारण आज २८ वर्षीय युवकसहित तीन बिरामीको उपचारका क्रममा मृत्यु भएको छ।

नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पताल कोहलपुरमा उपचारारत बाँकेको जानकी गाउँपालिका–१ का ७१ वर्षीय महिला, बैजनाथ गाउँपालिका–६ का २८ वर्षीय पुरुष र सल्यानको बनगाड कुपिण्डे नगरपालिका–३ का ५६ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए।

उनका अनुसार बिरामीमा रोगको प्रकृतिअनुसार उपचार गर्दागर्दै मृत्यु भएको हो । कोरोना सङ्क्रमण दर बढेसँगै बाँकेमा मृत्यु हुने सङ्ख्या पनि बढेको छ।

बिहीवार पनि बाँकेमा तीन जना सङ्क्रमितको मृत्यु भएको थियो । बाँकेमा आज बिहानसम्म ४२ पुरुष र २७ महिला गरी ६९ जना तथा जिल्ला बाहिरका ७४ पुरुष र २५ महिला गरी कूल ९९ जनाको उपचारको क्रममा मृत्यु भएको छ । यहाँस्थित भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पतालमा दैनिक दुई देखि चार सङ्क्रमितसम्मको मृत्यु हुने गरेको छ।
भेषराज बस्नेत रासस


प्रतिक्रिया दिनुहोस्