नवलपुर र मकवानपुरमा दुर्घटना : २ जनाको मृत्यु, १६ घाइते

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  ८ : ४०


नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको बुलिङटारमा आज जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ। दुर्घटनामा १६ जना घाइते भएका छन्।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ। जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायव उपरीक्षक दिलीपकुमारी गिरीका अनुसार नवलपुरको दलदलेबाट पाल्पाको रामपुर जाँदै गरेको लु १ ज ३७१० नम्बरको जीप बुलिङटार गाउँपालिका–६, अत्रौलीमा दुर्घटना भएको हो।

दुर्घटनामा परी पाल्पा रामपुर–४ बस्ने २३ वर्षीय अजय विकको घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक गिरीले जानकारी दिए।

घाइतेमध्ये पाँच जनाको नारायणी सामुदायिक अस्पताल भरतपुर र ११ जनाको डेढगाउँस्थित स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।

घाइतेमध्ये भरतपुरमा उपचाररत बौदिकाली गाउँपालिका घर भएका मोहन लामिछाने र खिमबहादुर मास्कीको अवस्था गम्भीर रहेको उनले बताए।

जीपमा १७ जना सवार थिए । जीपका चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरी नायव उपरीक्षक गिरीले बताए।

जीपको बे्रक फेल भएपछि सडकदेखि ५० मिटर तल खसेको थियो।

दुर्घटनामा परी एकको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरीमा आज बेलुका भएको सवारी दुर्घटनामा परी अटोमा सवार एक पुरुषको मृत्यु भएको छ।

पश्चिमबाट हेटौँडा आउँदै गरेको ना ५ ख ४७०४ नम्बरको ट्रकले ना १ ह ७१९४ नम्बरको अटोलाई ठक्कर दिँदा अटोमा सवार मकवानपुर मनहरी–९ का अन्दाजी ३०/३५ वर्षीय कुमार मगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी अटोमा सवार अन्य दुई जना घाइते भएको र दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्