ओली र नेपालले आ–आफ्नै सुर गर्ने

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  ९ : १६


काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच दुई दिन चार घण्टासम्म भएको छलफलले मिल्ने पारा नल्याएपछि दुवैले आ–आफ्नै सुर गर्ने भएका छन् ।

राजधानीमा बिहीबार करिब दुई घण्टा भएको संवाद बुधबारभन्दा पनि तिक्त भएर सकिएपछि यी दुई नेता आ–आफ्नै लय नछोड्ने उद्घोषसहित छुट्टिएकाे खबर कान्तिपुर दैनिकमा छ ।

भेटघाटपछि कान्तिपुरसँग नेता नेपालले अब सहमतिको सम्भावना सकिएको बताए । ‘हामीले पार्टी बचाउन जोड गरेका हौं तर उहाँको मिल्ने कुरा छैन,’ उनले भने, ‘हिजोको कुराले बरु अलिअलि आशावादी भइएको थियो, आज झन् बिग्रियो । अबको भेटघाट र छलफलको कुनै टुंगो छैन ।’

यी दुई नेताहरूबीच बुधबार भएको संवादमा ओलीले नेकपा एकीकरणदेखि प्रतिनिधिसभा विघटनयता कुनै पनि बेला आफूले सहयोग नपाएको गुनासो गरेका थिए । नेपालले पनि ओलीकै रवैयाका कारण पार्टी विभाजनको बिन्दुमा पुगेको बताएका थिए ।

नेपालले अहिले पार्टी एकताबद्ध राख्ने जिम्मेवारी अध्यक्षको हैसियतमा ओलीले लिनुपर्ने भन्दै त्यसका लागि ठोस प्रस्ताव ल्याउन माग गरेका थिए । उनले सहमतिको सालाखाला खाका मागेपछि ओली ‘फेरि भेटौंला’ भन्दै उठेका थिए ।

त्यही बिन्दुबाट बिहीबार संवाद थालनी गरेका नेताहरूबीच छलफल हुँदै जाँदा थुप्रै पटक नोकझोक भयो । नेपालले अब पार्टीलाई कसरी अघि बढाउने भनेर सोधेका थिए । लगत्तै ओलीले शुक्रबारको बैठकमा सहभागी भए बैठक स्थलमा छिर्न नरोकिने र फागुन २३ यता गरिएका सबै कारबाही फिर्ता गर्ने बताएका थिए ।


प्रतिक्रिया दिनुहोस्