एमाले विवाद– ओली नेपालबीच सहमति होला ?

प्रकाशित मिति : बैशाख २२, २०७८ बुधबार


काठमाडौं । पार्टी फुटको संघरमा पुगिरहँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच दुई दिन लगातार वार्ता भयो ।

फुटलाई औपचारिकता दिनमात्र बाँकि रहेको विश्लेषण भइरहँदा अप्रत्याशितमा बुधवार दुई शीर्ष नेताबीच भेटवार्ता भएपछि एमाले कार्यकर्ता पंक्तिमा ठूलै उत्साह छाएको थियो ।

हिजोको वार्तापछि पुन आजका लागि वार्ता गर्ने समझदारी अनुरुप आज दिँउसो दुई नेता होटल मेरियटमा बसे । अध्यक्ष ओली र नेता नेपालले होटलको कक्षबाट खुलेको काठमाडौं र धरहरा हेरेको तस्वीर सार्वजनिक भएपछि त झन् एमालेको विवाद सल्टिने मार्गमा रहेको भन्दै आकलन गरिएको थियो ।

विहीवार दुई घन्टालामो वार्ता सकाएर प्रधानमन्त्री ओली मेरियटबाट बाहिरिए तर नेपाल निस्किएनन् । त्यसबीचमा नेता नेपालले प्रधानमन्त्रीका दूतसमेत रहेका आर्थिक सल्लाहकार मोतिलाल दुगडसँग छलफल गरेका समाचारहरु बाहिरिएका थिए।
केहीबेरपछि बाहिरिएका नेता नेपालले वार्तामा प्रगति नभएको बताएपछि एकाएक नेकपा एमालेका कार्यकर्तामा निराशा छाएको छ ।

अध्यक्ष ओली आफ्नो अडानबाट पछि नहटेपछि वार्ता सकारात्मक हुन नसकेको नेता नेपाल पक्षको भनाइ छ ।

हिजोको वार्ता सकारात्मक भएपनि आज त्यस्तो नभएको नेता नेपालले बताए । हिजोको वार्ताबाट आफू आशावादी भएपनि आज तिक्ततापूर्ण भएको नेता नेपालको भनाइ छ ।

’कुनै प्रगति भएन। हाम्रो तिक्ततापूर्ण सम्बन्ध कायमै छ। म हिजो थोरै आशावादी थिएँ तर आज तिक्ततापूर्ण कुराकानी भयो,’ नेपालले भने ।

आजको वार्तामा पनि नेता नेपालले अध्यक्ष ओलीसँग उनले २०७७ फागुन २८ गते गरेका निर्णय फिर्ता गर्दै पार्टीलाई २०७५ जेठ ३ अघिको अवस्थामा लैजानु पर्ने बताएका थिए । तर ओली त्यसमा सहमत भएनन् ।

बैठकमा ओलीले १० गतेको केन्द्रीय कमिटीको बैठकमा आउन आग्रह गरेका थिए। बैठकमा आएमा निलम्बन फुकुवा गर्ने ओलीको प्रस्तावलाई नेपालले अस्वीकार गरेका थिए ।

सर्वोच्च अदालतले पार्टी एकता पूर्वको अवस्थामा पु¥याइदिएपछि नेकपा एमालेमा विवाद कायम छ । ओलीले आफू पक्षधरको बैठक राखेर नेता नेपाल पक्षलाई कारवाही गर्न थालेसँगै पार्टी फुट नजिक पुगेको छ ।

ओली र नेपालबीच वार्ता सुरु भएसँगै उत्साही कार्यकर्तामा भने आजको वार्तापछि निराशा छाएको छ ।

ओली जेठ तीनको अवस्थामा जाँदा माओवादी केन्द्रबाट आएकालाई कहाँ लैजाने भन्दै प्रश्न गरिरहेका छन् भने नेता नेपाल त्यसलाई व्यवस्थापन गर्न सकिने बताउँछन् ।

तर जेठ ३ को अवस्थामा जाँदा आफ्नो सरकार अल्पमतमा पर्ने त्रास ओलीलाई छ । सत्ताबाट बाहिरिनु पर्ने अवस्थाको आँकलन ओलीले गरेभने दुई नेताबीचको वार्ताबाट कुनै निष्कर्ष निस्कन नसक्ने नेता नेपाल पक्षका एक नेता बताउँछन् ।

यसबीचमा आज नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको दिन पारेर नेपाल पक्षका नेताहरुले ओलीले पार्टी विभाजनको डिलमा पु¥याएको आरोप लगाएका छन् । भने कारवाहीमा परेर स्पष्टिकरण माग गरिएका सांसदहरुले पनि उत्तर दिएका छन् ।

ओलीले सांसदबाट कारवाही गर्न लागेको भन्दै उक्त समूह अदालतसमेत पुगेको छ ।

 


प्रतिक्रिया दिनुहोस्