राष्ट्रियसभा सदस्यको उपनिर्वाचन जेठ ६ गते

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहिबार  ८ : ५१


आगामी जेठ ६ गते बिहीबारका लागि राष्ट्रियसभा सदस्यको उपनिर्वाचन हुने भएको छ।

वाग्मती प्रदेश अन्य समूहतर्फबाट राष्ट्रियसभा सदस्य पदमा निर्वाचित रामबहादुर थापा मगरको रिक्त पदपूर्तिका लागि उपनिर्वाचन हुन लागेको हो।

राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६१ ले कुनै सदस्यको पदावधि छ महीनाभन्दा बढी कायम रहँदै कुनै कारणले निजको पद रिक्त भएमा रिक्त भएको ३५ दिनभित्र सरकारले तोकेको मितिमा आयोगले रिक्त पदको बाँकी अवधिका लागि उपनिर्वाचनद्वारा पूर्ति गर्ने कानूनी व्यवस्था छ।

कानूनी व्यवस्थाबमोजिम सरकारको निर्णय अनुसार निर्वाचन आयोगको परामर्शमा उपनिर्वाचनको मिति तोकिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।

संविधानको धारा २६९ बमोजिम आयोगमा दर्ता कायम रहेका राजनीतिक दललाई निर्वाचन प्रयोजनका लागि नेपालको संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनार्थ यही वैशाख १० देखि १४ गतेसम्म आयोगमा निवेदन दिन सूचना गरिएको छ।

उपनिर्वाचनको घोषणासँगै आयोगले आजदेखि उपनिर्वाचन तयारीसम्बन्धी कार्य प्रारम्भ गरेको पनि प्रवक्ता श्रेष्ठले विज्ञप्तिमार्फत जानकारी दिएका छन।


प्रतिक्रिया दिनुहोस्