नेपालगञ्जमा थप दुई कोरोना संक्रमितको मृत्यु

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  १२ : १७


काठमाडौं । भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार गराइरहेका थप दुई जना कोरोना संक्रमतिको मृत्यु भएको छ ।

भेरी अस्पतालमा उपचार गराइरहेका वृद्धको मृत्यु भएको हो । नेपालगन्ज उपमहानगरपालिका–१२ का ७० वर्षीय वृद्धको मंगलबार राति १२ बजेतिर मृत्यु भएको अस्पतालले जनाएको छ ।

गत चैत २९ गते नेपालगञ्ज मेडिकल कलेजमा पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ आएको थियो । रिपोर्ट पोजेटिभ आएपछि भेरी अस्पतालको कोभिड वार्डमा भर्ना भएका उनको उपचारका क्रममा मृत्यु भएको हो ।

त्यस्तै नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ९० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोहलपुर नगरपालिका– १२ का वृद्धको उपचारका क्रममा मृत्यु भएको हो ।

वैशाख ६ गते मेडिकल कलेजमा पीसीआर जाँच गराउँदा कोरोना पोजेटिभ आएको थियो । उनको स्वास्थ्यमा सुधार नआएपछि उपचारको क्रममा बुधबार बिहान ७ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

मृतकको शवलाई नेपाली सेना र परिवारले व्यवस्थापन गर्ने जनाइएको छ । कोरोना संक्रमणबाट बाँकेमा मृतकको संख्या ६६ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्