कोरोना खोपको दोस्रो डोज आजबाट लगाइँदै, यी हुन् खोप केन्द्र (सूची)

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ७ : २८


काठमाडौं । सरकारले आजदेखि कोभिड–१९ को दोस्रो मात्राको खोप लगाउँदै छ।

गत माघ १४ देखि फागुन १० गतेसम्म कोभिड–१९ को पहिलो मात्रा लगाएका व्यक्तिलाई दोस्रो मात्राको खोप लगाउन थालिएको स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा झलक शर्मा गौतमले जानकारी दिए।

उनका अनुसार उक्त अवधिमा पहिलो मात्रा खोप लगाएका व्यक्तिले यही वैशाख ७ देखि ११ गतेसम्म आफूलाई पायक पर्ने खोप केन्द्रमा गई खोप लगाउने छन्।

पहिलो खोप अभियानअन्तर्गत विभागले भारत सरकारको अनुदानमा प्राप्त र खरिद गरेको ‘कोभिशिल्ड’ खोपको मात्रा दिइएको थियो।

विभागले गत माघ १४ देखि १६ तथा माघ २७ देखि २९ गतेसम्म पहिलो मात्रा लगाएकाले वैशाख ७ गते, माघ १८ देखि २२ गते र फागुन २ गते लगाएकाले यही वैशाख ८ गते, माघ २३ र फागुन ३ गतेदेखि ५ गतेसम्म लगाएकाले वैशाख ९ गते, माघ २४ गते र फागुन ६, ८ र ९ गते लगाएकाले वैशाख १० गते र माघ ३० र फागुन ७ तथा १० गते लगाएकाले वैशाख ११ गते दोस्रो मात्राको खोप लगाउनका लागि भनेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दोस्रो मात्राको खोपका लागि उपत्यकाका विभिन्न अस्पतालमा केन्द्र बनाएको छ।

मन्त्रालयले दोस्रो मात्राको खोपका लागि उपत्यकाका विभिन्न २० केन्द्रबाट खोप लगाउने व्यवस्था मिलाएको छ । वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल, सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीरेन्द्र अस्पताल, निजामति कर्मचारी अस्पताल, सशस्त्र प्रहरी अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा दोस्रो डोज खोप लगाइने मन्त्रालयले जनाएको छ ।

त्यस्तै, नेपाल प्रहरी अस्पताल, नेपाल मेडिकल कलेज, ओम हस्पिटल एन्ड रिसर्च सेन्टर, काठमाडौं मेडिकल कलेज, क्षेत्रपाटी निशुल्क चिकित्सालय, हिमाल अस्पताल, जनमैत्री अस्पताल, स्तुपा अस्पताल, मदरल्यान्ड अस्पताल र ह्याम्स अस्पतालमा पनि दोस्रो डोज खोप लगाइने छ । खोप बिहान १० बजेदेखि ४ बजेसम्म लगाउन सकिने छ ।

पहिलो मात्रा करिब १८ लाख मानिसले लगाएका थिए।

एक लाख २३ हजारलाई ‘भेरोसेल’

यस्तै चीन सरकारले अनुदानमा उपलब्ध गराएको ‘भेरोसेल’ एक लाख २३ हजारले लगाएका छन् । खोप शाखाका प्रमुख डा गौतमले सात जिल्लाका ४० वर्षदेखि ५९ उमेर समूहका एक लाख २३ हजारलाई ‘भेरोसेल’ खोप लगाइएको जानकारी दिए।

‘भेरोसेल’ गत चैत २५ देखि यही वैशाख ५ गतेसम्म काठमाडौँ, भक्तपुर, ललितपुर, रसुवा, नुवाकोट, काभे्रपलाञ्चोक र सिन्धुपाञ्चोकका ४० वर्षदेखि ५९ वर्ष उमेर समूहका व्यक्तिलाई लगाइएको थियो।

गत चैत १६ गते चीन सरकारको अनुदानमा आठ लाख मात्रा ‘भेरोसेल’ खोप नेपाल आएको थियो।

उनले दोस्रो मात्राको खोप अभियान सकिएपछि पुनः ‘भेरोसेल’ खोप लगाइने जानकारी दिए।


प्रतिक्रिया दिनुहोस्