४ महिनापछि नेपालमा आज एकैदिन थपिए १ हजार बढी कोरोना संक्रमित

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ४ : ४६


काठमाडौं । नेपालमा आज एकैदिन १ हजार बढी कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज १ हजार ९६ जना संक्रमित थपिएको जनाएको छ।

पछिल्लो ४ महिना यता नेपालमा यति धेरै संक्रमित एकैदिन फेला परेका थिएनन्।

पछिल्लो २४ घण्टामा ५ हजार ८४ नमुना पिसिआर परिक्षणबाट १ हजार १५ जना र ६ सय ९९ एन्टिजेन परिक्षणबाट ८१ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ।

आज १,०९६ जनामा सङ्क्रमण पुष्टि भएकोमा जसमध्ये ४३५ जना काठमाडौं उपत्यकाका छन्।

त्यसैगरी आइतबार २ सय ६२ जना संक्रमणमुक्त भएका छन्। त्यसैगरी, देशभर ८५ जना क्वारेन्टिनमा रहेका छन्।

हाल देशभर ६२९० जना कोरोना भाइरसको सक्रिय संक्रमित रहेका छन्। तीमध्ये ५७६ जना संस्थागत आइसोलेसनमा छन्।

संक्रमित ३ हजार ५६५ बालबालिका

नेपालमा ५ वर्षमुनिका ३ हजार ५ सय ६५ जना कोरोना संक्रमित भएका छन्।

मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले संक्रमितमध्ये १० जनाको मृत्यु भएको बताए।

‘अहिले पनि ५१ जना ५ वर्षमुनिका एक्टिभ संक्रमित छन्’, उनले भने, ‘बालबालिकालाई कोरोनाले असर नगर्ने भनेर नबोल्न र तथ्यमा बोल्न चिकित्सकहरूलाई आग्रह गर्दछु ।’

 


प्रतिक्रिया दिनुहोस्