बादलको सांसद पद खारेज, गृहमन्त्रीको जिम्मेवारीबाट पदमुक्त

प्रकाशित मिति : असार ९, २०७८ बुधबार


काठमाडौं । गृहमन्त्री रामबहादुर थापा राष्ट्रियसभा सदस्यबाट मुक्त भएका छन ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को तर्फबाट विसं २०७४ को राष्ट्रियसभा सदस्य निर्वाचनमा वाग्मती प्रदेशबाट चयन हुनुभएका थापाले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ बमोजिम दल त्याग गरेकाले उहाँलाई राष्ट्रियसभा सदस्यबाट मुक्त गरिएको हो ।

राष्ट्रियसभामा केन्द्रका सचेतक दीनानाथ शर्माले थापालाई राष्ट्रियसभा सदस्यबाट मुक्त गर्न गत चैत २७ गते लिखितपत्र पेश गरेबमोजिम राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले त्यसलाई आज स्वीकृत गर्नुभएको तथा राजनीतिक दलसम्बन्धी ऐनअनुसार थापाको सदस्य पद रिक्त भएको संसद् सचिवालयले जनाएको छ ।

यसअघि नेकपा माओवादी केन्द्रले थापालाई पार्टीबाट निष्कासन गरिएको पत्र सङ्घीय संसद सचिवालयमा पठाएको थियो ।यससंगै थापा गृहमन्त्रीको जिम्मेवारीबाट पनि स्वत पदमुक्त भएका छन् ।

फेरी उनैलाई मन्त्री बनाउन नयाँ नियुक्ती र सपथ गराउनु पर्ने हुन्छ । संसदको सदस्य नभएपछि मन्त्रीपद पनि स्वत रिक्त हुन्छ । सासंद नभएको अवस्थामा उनलाई अब बढीमा ६ महिनाका लागि मन्त्री नियुक्त गर्न सकिने छ ।

३५ दिनभित्रै उपनिर्वाचन गरिसक्नुपर्ने

गृहमन्त्री रामबहादुर थापा बादलको रिक्त स्थानमा ३५ दिनभित्रै उपचुनावमार्फत पदपूर्ति गर्नुपर्ने कानूनी व्यवस्था छ । प्रतिनिधिभा, प्रदेशसभा र स्थानीय तहका रिक्त पदहरु जहिल्यै पूर्ति गरे पनि हुन्छ । तर, राष्ट्रियसभा सदस्यको हकमा भने ३५ दिनभित्रै उपचुनाव गर्नुपर्ने कानूनी बाध्यता छ ।

राष्ट्रियसभा निर्वाचन ऐन २०७५ को दफा ६१ मा भनिएको छ, ‘कुनै सदस्यको पदावधि ६ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले निजको पद रिक्त भएमा रिक्त भएको पैतीस दिनभित्र नेपाल सरकारले तोकेको मितिमा आयोगले त्यस्तो रिक्त सदस्यको पद यो ऐन बमोजिम बाँकी अवधिको लागि उपनिर्वाचनद्वारा दफा ३ बमोजिम पूर्ति गर्नुपर्नेछ ।’


प्रतिक्रिया दिनुहोस्