विप्लव नेकपाका प्रवक्ता र प्रधानमन्त्रीबीच भेटवार्ता, जेलमा रहेका नेता रिहाईबारे छलफल

प्रकाशित मिति : असार ५, २०७८ शनिबार


काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

शनिवार दिउसो बालुवाटारमा प्रधानमन्त्री ओली र प्रवक्ता प्रकाण्डबीच भेटवार्ता भएको हो। सर्वदलीय बैठक लगत्तै प्रधानमन्त्री ओलीले प्रवक्ता प्रकाण्डसँग भेट गरेका हुन।

उक्त भेटवार्तामा प्रकाण्डले नेताहरु कहिले जेलबाट रिहा हुन्छन् भन्नेबारे जिज्ञासा राखेका थिए।

प्रधानमन्त्री ओलीले जवाफमा प्रक्रिया अगाडि बढेको र छिट्टै निष्कर्षमा पुग्ने बताएका छन्।

उक्त भेटवार्तामा प्रकाण्डले कोरोना नियन्त्रणका लागि योजनाबद्धरुपमा पहल गर्दै अन्तर्राष्ट्रिय नाकालाई बन्द गर्नुपर्ने, आवश्यक नाकालाई नियमन गरेर मात्र खुला गर्ने, आमजनतालाई स्वास्थ्य नियम पालना गर्न प्रेरित गर्दै कडाई गर्नुपर्ने र कोरोना संक्रमणको दोस्रो लहरबाट प्रभावित सहर र गाउँहरुलाई तुरुन्त नियन्त्रणमा लिँदै स्वास्थ्य जाँच र स्वास्थ्य नियमलाई समेत कडाइका साथ पालना गराउन प्रवक्ता सरकारको ध्यानाकर्षण गराएका छन।

साथै, छिट्टै नेकपा र सरकारबीच अर्को बैठक बस्ने सहमति समेत भएको बताइएको छ।


प्रतिक्रिया दिनुहोस्