संकटमा कर्णालीका मुख्यमन्त्रीको पद, नेपाल समूहले ‘फ्लोर क्रस’ गर्ला ?

प्रकाशित मिति : असार १०, २०७८ बिहीबार


काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज विश्वासको मत लिँदै छन् ।

आज (शुक्रबार) दिउँसो बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिन लागेका हुन् ।

सरकार गठनदेखि नै चर्को दबाब खेप्दै आएका मुख्यमन्त्री पछिल्लो समय नेकपा एमालले समर्थन फिर्ता लिएपछि प्रदेश सभामा विश्वासको मत लिन तयार भएका हुन् ।

हाल ३९ प्रदेश सभा सदस्य रहेको कर्णाली प्रदेश सभामा मुख्यमन्त्री शाहीको दल नेकपा (माओवादी केन्द्र)का १२ जना सांसद छन् ।

मुख्यमन्त्रीले विश्वासको मत लिन प्रदेश सभाका २० जना सांसदको समर्थन चाहिन्छ ।

मुख्यमन्त्री शाहीको सरकारलाई दिएको समर्थन फिर्ता लिएको प्रदेश सभाको सबैभन्दा ठूलो दल नेकपा एमालेका १९ जना सांसद (प्रदेशसभा सभामुख राजबहादुर शाहीलाई छाडेर) सांसद छन् ।

यस्तै, नेपाली कांग्रेसका ६ र राप्रपाका १ जना सांसद छन् । कांग्रेस र राप्रपाले पनि साथ दिएको अवस्थामा शाहीको पक्षमा १९ जना सांसदको मात्रै समर्थन जुट्न सक्छ । यस्तो अवस्थामा प्रदेश सभामुख राजबहादुर शाहीको मत निर्णायक हुन सक्छ ।

सभामुखले निर्णायक मत दिँदा उनले आफू समर्थित दल (नेकपा एमाले)लाई सहयोग गर्ने सम्भावना पनि छ ।

प्रतिकुल अवस्थामा पनि विश्वासको मत लिन तयार हुनुले मुख्यमन्त्री शाहीले अन्य दलसँग आन्तरिक गठजोड गरेको हुनसक्ने अनुमान गरिएको छ ।

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हुँदा प्रधानमन्त्री केपी शर्मा ओली निकटका प्रदेशसभा सदस्य यमलाल कँडेलको अगुवाइमा मुख्यमन्त्री शाहीविरुद्ध संसदीय दलमा नै अविश्वासको प्रस्ताव पेस गरिएको थियो ।

तर, त्यतिबेला नेता माधव कुमार नेपाल समूहका सांसदले अविश्वास प्रस्तावबाट हस्ताक्षर फिर्ता लिएपछि मुख्यमन्त्री शाहीको पद जोगिएको थियो ।

सर्वोच्च अदालतको २३ फागुन २०७७ को फैसलापछि ब्यूँतिएको नेकपा एमालेको नेपाल समूहले मुख्यमन्त्री शाहीलाई साथ दिँदै आएको थियो ।

तर, पछिल्लो समय नेपाल समूहका मन्त्रीहरु पनि सरकारबाट फिर्ता भइसकेका छन् ।

नेकपा एमालेको संस्थापन (ओली) पक्षले मुख्यमन्त्री शाहीको विपक्षमा मतदान गर्न ह्वीप नै जारी गर्ने चर्चा छ ।

तर, नेकपा माओवादी केन्द्र कर्णालीका नेताहरु भने सरकार जोगिनेमा ढुक्क जस्तै छन् । दैनिक अनलाइनको सम्पर्कमा आएका माओवादी केन्द्रका एक नेताले भने, ‘परिस्थिति जे पनि हुन सक्छ । तर, अहिलेको परिस्थिति बद्लिएन भने प्रदेश सरकार जोगिन्छ ।’


प्रतिक्रिया दिनुहोस्