चितवनमा भएका दुर्घटनामा एकको मृत्यु, चार घाइते

प्रकाशित मिति : जेष्ठ ३१, २०७८ सोमबार


चितवनमा आज भएका छुट्टाछुट्टै दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार घाइते भएका छन् ।

भरतपुर महानगरपालिका–२६ मा खहरेघारीबाट घादु्रकचोकतर्फ जाँदै गरेको ना४२प ६१३८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको हो।

दुर्घटनामा गम्भीर घाइते मोटरसाइकल चालक भरतपुर–२६ कै ४० वर्षीय दीपेन्द्र चौधरीको उपचारका लागि अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । मोटरसाइकल पछाडि सवार भरतपुर–२५ का २२ वर्षीय अमित महतो दुर्घटनामा घाइते भएका छन् । उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

यस्तै आज दिउँसो २ः५५ बजे रत्ननगर नगरपालिका–२ बेल्सिपुल नजिक भएको दुर्घटनामा तीन जना घाइते भएका छन्।

ना ३५ प ६५०२ नम्बरको स्कुटरले विपरीत दिशाबाट आइरहेको प्रदेश ३–०३–००१ प २६२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल अनियन्त्रित भई बा२ख ४५२२ नम्बरको बसमा ठोक्किन पुगेको थियो।

सो क्रममा स्कुटर र मोटरसाइकलमा सवार तीन जना घाइते भएका छन् । उनीहरुको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्