‘साला कम्युनिस्ट’ भन्दै कांग्रेस नेता बस्नेतले एमाले नेतालाई थर्काएपछि…

प्रकाशित मिति : असार ४, २०७८ शुक्रबार


काठमाडौं । फेसबुक, ट्वीटर, टिकटक लगायतका सामाजिक सञ्जालमा सोमबार विहानैदेखि एउटा भिडियो भाइरल बनेको छ ।

नेपाली कांग्रेस सिन्धुपाल्चोकका नेता मोहनबहादुर बस्नेतले एमाले नेता केशव बडालमाथि गरेको अभद्र टिप्पणी यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

आइतबार प्राइम टेलिभिजनमा प्रसारित पत्रकार ऋषि धमलाको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा दुई नेताबीचको विवाद चर्चामा रहेको हो ।

प्राइम टेलिभिजनले आफ्नो युट्युब च्यानलमा राखेको उक्त अन्तर्वार्ताको भिडियो ९१ ह्जार भन्दा धेरैले हेरेका छन् भने सामाजिक सञ्जालमा राखिएको सानो क्लिप लाखौंले हेरेका छन् र भिडियो बारे टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा आएका प्रतिक्रियाहरुमा नेताहरुको शैली र उनीहरुको शिष्टताका विषयमा प्रश्न उठाइएको छ ।

कांग्रेस नेता बस्नेत अभद्र तरिकाले टेलिभिजन अन्तरवार्तामा कम्युनिस्टलाई देशद्रोहीको संज्ञा दिँदै एमाले नेता बडालमाथि जाइलागेका छन् ।

अन्तरवार्ताका क्रममा पत्रकार धमलाले सोधे, ‘केपी शर्मा ओलीले जति काम गर्नुभयो, धेरै काम त गर्नुभएको छ नि ?’ जवाफका क्रममा कांग्रेस नेता बस्नेतले भने, ‘काम गर्नुभा’छ भन्या ! वाइडबढी किनेर लेरायो, ख्वाप्प ४ अर्बको हिसाव छैन ।’

त्यसपछि एमाले नेता बडालले केही बोल्न खोजेपछि बस्नेतले रोक्दै भने, ‘मलाई…क्लियर गर्न दिनुस् पहिला !’ बडालले प्रतिवाद गर्दै भने, ‘क्लियर होइन, तपाईं कति फटाहा कुरा गर्दै हुनुहुन्छ, त्यस्तो हुँदै होइन के !’ बस्नेतले बडाललाई औँला उठाउँदै भने, ‘तपाईँ चोर कुरा गर्दै हुनुहुन्छ ! बढी कुरा गर्ने ?’ बस्नेतले जाइलाग्दै चर्को स्वरमा भने, ‘सम्हालिएर बस्नुस्, फटाहा भन्ने ?’

बडालले असत्य कुरा बस्नेतले बोलेको तर्क गरिरहे । बस्नेतले थप चर्किँदै भने, ‘तपाईंले असत्य कुरा बोल्नुभाछ, साले डाँका, देशद्रोही, कम्युनिस्ट !’ चर्काचर्कीकै बीच बडालले केही बोल्न खोजेपछि बस्नेतले चुप लाग्न चेतावनी दिँदै आफूलाई बोल्न दिन अन्तरवार्ताकार ऋषि धमलासँग आग्रह गरे । त्यसपछि बडालले पनि धमलालाई अबदेखि बस्नेतजस्ता मान्छेसँग आफूलाई अन्तरवार्ता दिनका लागि नबोलाउन आग्रह गरे ।

‘हुँदै नभएको यति ढाँट कुरा गर्नभा’छ । वाइडबढी उहाँहरुको सरकार भएका बेला भएको हो ।

वाइडबढी किनेको हुम्लाका पर्यटनमन्त्री भएका बेला त्यो निर्णय भएको हो’, बडालले भने । बडालले यतिबोल्दै गर्दा बस्नेतले निरन्तर प्रतिवादको प्रयास गरिरहे । बस्नेत फेरि बोले, ‘ऋषिजी, तपाईँले जे कुरा सोध्नुभयो । उहाँले जवाफ दिनुभयो, म सुनेर बसेँ । मलाई पनि जवाफ दिन दिनुस् । त्यसपछि म उहाँको सुन्छु ।’

सामाजिक सञ्जालमा कांग्रेस नेता बस्नेतले ‘साले डाँका, देशद्रोही, कम्युनिस्ट !’ भनेको र बडालमाथि जाइलागेको भिडियोको क्लिप सामाजिक सञ्जालमा भाइरल बनेको हो ।


प्रतिक्रिया दिनुहोस्